नेको इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो। हाल कायम ४ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो।
कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
हकप्रद प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गरेको छ। यस अनुसार माघ १५ गतेसम्म कायम सेयरधनीहरूले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
उक्त सेयरमा फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले 'आइआरएन सिंगल ए प्लस' इस्युअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता सुरक्षित रहेको जनाउँछ।
कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरूले बिक्री प्रबन्धकका साथै नेको इन्स्योरेन्सको कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी-आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' प्रयोग गरी अनलाइन मार्फत समेत हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ।