नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन्।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन्।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो। सरकारले कानुनसम्मत ढंगले खुल्ला रूपमा प्रतिष्पर्धाको विधि अबलम्बन गरेर धितोपत्र बोर्डको अध्यक्ष छनोट गरेको अर्थमन्त्री पौडेलले बताए।
बजारका क्षेत्रमा रहेका यावत समस्याहरूलाई संस्थागत रूपमा सम्बोधन गर्ने उनले विश्वास व्यक्त गरे।
उनले पुँजी बजारको व्यवस्थित विकासका लागि अध्यक्षले गतिशिल ढंगले काम गर्ने बताए।
नवनियुक्त अध्यक्ष श्रेष्ठले प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारमा रहेका समस्याहरुलाई अवसरका रूपमा बदल्ने प्रतिबद्धता व्यक्त गरे।
बजारमा पारदर्शीता कायम गर्नु, साना लगानीकर्ताको संरक्षण गर्नु आफ्नो प्राथमिकता रहेको अध्यक्षको भनाइ छ।