सेयर बजारमा भइरहेको वृद्धिप्रति सरकार निकै सकारात्मक देखिएको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सेयर बजार सूचक नेप्सेलाई नै अर्थतन्त्रको सूचकका रूपमा समेत व्याख्या गरेबाट यसलाई बुझ्न सकिन्छ।
'अहिले अर्थतन्त्रका सूचकहरूका बारेमा मैले केही चर्चा गर्नुपर्छ जस्तो लाग्दैन। तपाईंहरू आफैले दैनिक हेरिरहनुभएको छ। बिहानदेखि साँझसम्म हेरिरहनुभएको छ। सुत्ने बेलामा हेर्नुहुन्छ हाम्रो अर्थतन्त्र कहाँ आइपुग्यो। उठ्ने बेला हेर्नुहुन्छ हाम्रो अर्थतन्त्र कहाँ आइपुग्यो,' अर्थमन्त्री पौडेलले एक कार्यक्रममा भने।
उनको यो भनाइ सेयर बजार लक्षित भएको लख सजिलै काट्न सकिन्छ। नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार सबल निजी क्षेत्र बलियो पूर्वाधार’ विषयक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन्।
उनले सरकारको एक महिनाको उपलब्धिमा पनि सेयर बजार वृद्धिलाई समावेश गरेका छन्।
पौडेलले भने, 'प्रधानमन्त्रीको रूपमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार गर्नु भएको एक महिना भएको छ। एक महिनाको अवधि धेरै लामो समय होइन। तैपनि केही सकारात्मक सूचकहरू देखा परेको छ।'
उनले राजस्व संकलनमा केही सकारात्मक संकेत देखिएको बताए। सरकारले प्रभावकारी प्रयास गर्न बाँकी नै रहँदा पनि सकारात्मक संकेत देखिएको बताएका हुन्।
गत वर्षको तुलनामा यस आर्थिक वर्षको साउनमा राजस्व २० प्रतिशतले बढेको, पुँजीगत खर्च नौ गुणाले बढेको छ।
घरजग्गाको कारोबार सुधार भइरहेको र सेयर बजार उत्साहित देखिएको उनले बताएका हुन्।
कार्यक्रममा सेयर लगानीकर्ताहरूको पनि बाक्लो उपस्थिति देखिएको थियो। नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागीरथ सापकोटाले समेत सरकारले अर्थतन्त्रको सुधार सेयर बजारबाट सुरू गरेको दाबी गरे।
'अहिले हाम्रो अर्थमन्त्री आउँदा सबै खुशी छन्, विद्यार्थी, गृहिणी सबै,' संयोजक सापकोटाले भने, 'अहिले हामी, हाम्रो सरकार कहाँबाट छिर्ने भन्दा धेरैको टाउँको दुखेको छ, रोडबाट कराइरहेका छन्, सदनबाट कराइरहेका छन्। अर्थतन्त्र कहाँबाट छिर्नेभन्दा सरकार सेयर बजारबाट छिर्यो।'
महासंघले पनि यस्तो सल्लाह दिएको उनले बताए। सेयर बजारपछि अब निर्माण क्षेत्रमा सुधार गर्ने र त्यसपछि सेवा लगायतका क्षेत्र सुधार हुँदै जाने उनले दाबी गरे।
महासंघ राजनीतिक दल नेकपा एमाले निकट व्यवसायीहरू आबद्ध भएको संस्था पनि हो।