नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले ह्वील चार्जको आधारमा विद्युतको शुल्क तिर्ने व्यवस्था हुनुपर्ने बताएका छन्।
नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको 'सुदृढ अर्थतन्त्र निर्माणको आधार सबल निजी क्षेत्र बलियो पूर्वाधार' विषयक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन्।
'निजी क्षेत्र सरकारसँग समन्वय गरेर अगाडि बढ्न तयार छ। सबै दलले लगानी सम्मेलन अघि कानुन संशोधनमा सहयोग गरेकोले नै मुलुकको आर्थिक सुधारमा सबै दल सहमत रहेको देखिन्छ,' उनले भने।
अहिले निर्माण लगायतका निजी क्षेत्र संकुचित भएको र यसको सुधारको पहिलो शर्त स्थितरता रहेको उनको भनाइ छ।
विद्युतलाई कच्चा पदार्थको रूपमा मान्नुपर्ने उनले बताए।
'उद्योगहरूको लागि सहज विद्युत उपलब्ध हुनुपर्छ। उद्योगहरूले ह्वील चार्जको आधारमा शुल्क तिर्न सक्ने व्यवस्था हुनुपर्छ,' ढकालले भने।
मौद्रिक नीतिमा गरिएको सानो सुधारले समग्र अर्थतन्त्र चलायमान हुन थालेको उनको भनाइ छ।