तीन हजारको विन्दुमा पटक–पटक प्रतिरोध पाइरहँदा नेप्से परिसूचक स्थिर जस्तै देखिएको छ।
बुधबार ०.०७ प्रतिशत बढेको नेप्से बिहीबार पनि ०.२० प्रतिशत (६.०१ अंक) ले मात्रै बढेको छ। नेप्से परिसूचक बजार बन्द हुँदा २९७४.४६ विन्दुमा छ।
कारोबार रकममा भने अघिल्ला दुई दिनको भन्दा सुधार देखिएको छ।
बिहीबार १९ अर्ब १६ करोड रूपैयाँको सेयर कारोबार भएको छ। बजारमा वृद्धि देखिएसँगै विगत २४ कारोबार दिनदेखि बजारमा १० अर्ब रूपैयाँ माथिको कारोबार भएको छ।
गत साउन २ गतेदेखि हरेक दिन बजारमा १० अर्ब रूपैयाँ माथिको कारोबार हुन थालेको हो। १७ कारोबार दिनयता हरेक दिन बजारमा १५ अर्ब माथिको कारोबार छ।
अहिले बजार हालसम्मको उच्च विन्दु (३१९८ विन्दु) बाट दुई सय २४ विन्दु तल छ। त्यसैले बजारले तीन हजारको विन्दुमा प्रतिरोध पाइरहँदा लगानीकर्ताहरू अन्योलमा देखिएका छन्।
पछिल्लो समय वाणिज्य बैंकहरूले दिने ब्याजदर एकल अंकमा आएको छ।
कर्जा लगानी बढ्न नसक्दा बैंकहरूसँग अहिले पनि लगानीयोग्य पुँजी आझै ६ खर्ब रूपैयाँ माथि छ। तर, केही क्षेत्रमा अझै गतिशिलता नआएकोले चिन्ता देखिएको छ।
आगामी दिनमा आउने सकारात्मक खबरले बजारलाई निकै माथि लैजान सक्छ भने नकारात्मक खबर आएमा बजार केही समय घट्न सक्छ।
यसैबीच, यसदिन ३३३ वटा धितोपत्रको चार करोड ९ लाख ५१ हजार ७२० कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ वटाको घटेको छ। यस्तै तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
यस्तै, १०.२५% एसबिएल डिबेन्चर २०८३ को मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ११८ रूपैयाँ ७० पैसामा झरेको छ।
१०.२५% एनबिबिएल डिबेन्चर २०८५ को मूल्य ३.९५ प्रतिशतले घटेको छ।
उक्त डिबेन्चरको मूल्य एक हजार १३४ रूपैयाँ ६० पैसा कायम भएको छ।
बिहीबार साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ५९० रूपैयाँमा एक अर्ब तीन करोड ९३ लाखको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३४० रूपैयाँमा ४७ करोड ४७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये छ समूहको परिसूचक बढेको छ भने बाँकी सात समूहको परिसूचक घटेको छ।
यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक ४.५२ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशतले घटेको छ।