सेयर बजार परिसूचक नेप्सेको ३ हजार विन्दु पार गर्ने प्रयास चौथो पटक पनि सफल हुन सकेन।
गत बुधबारदेखि नेप्से ३ हजार विन्दु पुगेर फर्किने क्रममा छ। नेप्सेले उक्त विन्दुमा प्रतिरोध परीक्षण गरेको छ।
बुधबार कारोबार अवधिमा पटक–पटक उक्त विन्दु पार गरेको नेप्से त्यो विन्दुमा अडिन सकेन।
यसअघि पनि धेरै पटक उक्त विन्दु कटेर पुनः २९६० देखि २९८० को आसपासमा नेप्से फर्किएको थियो।
बुधबार नेप्से २.११ अंकले बढेर २९६८.४४ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ।
आइतबार २८ अर्ब ८३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार १८ अर्ब ९० करोडको सेयर कारोबार भएको छ।
यो रकम अघिल्लो दिनको तुलनामा ९ अर्ब ९३ करोड रूपैयाँ कमी आएको हो।
यसदिन ३३७ वटा धितोपत्रको चार करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १०० कम्पनीको सेयर मूल्य बढेको छ भने १४० वटाको घटेको छ। यस्तै चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र दोल्ती पावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
यस्तै, कर्णाली डेभलपमेन्टको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७२० रूपैयाँमा झरेको छ।
मातृभूमि लघुवित्तको मूल्य ५.९८ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार रूपैयाँ ४६२ पैसा कायम भएको छ।
बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ९८० रूपैयाँमा ६६ करोड ०२ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.३० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अपी पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३६३ रूपैयाँमा ४५ करोड ७८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.९९ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशतले घटेको छ।