कोभिडपछि विश्वभर दिगो विकास लक्ष्य (सस्टेनेबल डेभलपमेन्ट गोल) को लागि आवश्यक पुँजी स्रोतको खाडल बढेको देखिएको छ।
'दिगो विकासको लक्ष्य प्राप्तिको लागि कोभिडअघि विश्वभर वार्षिक २५ खर्ब डलर बराबरको पुँजी स्रोत अपुग भइरहेको मानिएको थियो,' संयुक्त राष्ट्र संघको नेपालका लागि आवासीय संयोजक हान्ना सिंगर ह्याम्डिले बताइन्, 'त्यसपछि भने वार्षिक ४० खर्ब डलर अपुग देखिएको छ।'
नेपाल सरकार, संयुक्त राष्ट्र संघ नेपाल र उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा भएको 'विकासका लागि वित्त' शीर्षकको कार्यक्रममा उनले यस्तो बताएकी हुन्।
नेपाल पनि यसको अपवाद नरहेको कार्यक्रममा वक्ताहरूले बताएका छन्।
सन् २०२६ मा दिगो विकास लक्ष्यले तोकेका विभिन्न शर्त पूरा गर्दै नेपाल अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति गर्ने तयारीमा छ।
दिगो विकास लक्ष्यका विभिन्न शर्त पालनको लागि सन् २०२३ देखि सन् २०३० सम्म नेपाललाई वार्षिक २३ अर्ब डलर (३० खर्ब ८२ अर्ब रूपैयाँ) पुँजी आवश्यक रहेको बताइएको छ।
यसरी आवश्यक पुँजीमध्ये नेपाललाई कुल गार्हथ्य उत्पादन (जिडिपी) को ११ प्रतिशत बराबर रकम अपुग देखिदै आएको बताइएको छ। नेपालले दिगो विकासका विभिन्न लक्ष्य पूरा गरेपनि प्रक्ति व्यक्ति आयमा अझै सुधार हुन बाँकी रहेको बताइएको छ।
एसिया प्यासिफिक क्षेत्रका मुलुकहरूमा धेरैले सन् २०२३ सम्म हासिल गर्नुपर्ने दिगो विकास लक्ष्यको नजिक समेत आइनपुगेको बताइएको छ।
बजेटेरी स्पेस घट्दै गएको, सार्वजनिक ऋण बढ्दै गएको र प्रत्यक्ष वैदेशिक लगानीमा सुधार हुन नसकेकोले नेपाललाई पनि दिगो विकासका लक्ष्य हासिल गर्न चुनौती बन्दै गएको छ।
'अल्पविकसित वा विकासोन्मुख मुलुकहरूमा राजस्व परिचालन क्षमता कमजोर छ, आन्तरिक ऋण बढ्दो छ र स्रोत अभाव देखिएको छ,' उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने, 'नेपालको सन्दर्भमा पनि यस्तै समस्या रहेको र वातावरणीय लगायतका चुनौती थपिएको छ।'
नेपाललाई दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक पुँजी वैदेशिक लगानीबाट प्राप्त हुन सक्ने भए पनि यो निकै न्यून छ।
पछिल्लो समय कम विकसित मुलुकहरूमा नै वैदेशिक लगानी भित्रिने दर घटिरहेको छ।
सन् २०२२ मा विश्वभर हुने प्रत्यक्ष वैदेशिक लगानी १२ प्रतिशतले घट्दा अतिकम विकसित राष्ट्रहरूमा सबैभन्दा धेरै १६ प्रतिशतले घटेको छ। विश्व बैंकको तथ्यांक अनुसार सन् २०२२ मा नेपालको जिडिपीको मात्रै ०.२ प्रतिशत बराबर प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको छ।