रिलायन्स स्पिनिङ मिल्समा थप अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उल्लेख गरेको छ।
'हामीले उजुरी आएसँगै धितोपत्र बोर्डलाई यसमा छानबिन गर्न भनेका थियौं, एक महिनापछि उहाँहरूले यसमा अनुसन्धान गर्नुनपर्ने जवाफ सहितको प्रतिवेदन पठाउनु भयो,' ब्युरोका प्रवक्ता तथा प्रहरी उपपरीक्षक होबिन्द्र बोगटीले भने, 'बजारको नियामक बोर्डले नै अनुसन्धान आवश्यक छैन भनेपछि हामीले पनि यसमा गर्नुपर्ने केही देखिएन।'
भविष्यमा यसमा थप केही प्रमाण प्राप्त भएमा भने अनुसन्धान हुन सक्ने समेत बोगटले बताए।
कम्पनीको बुक बिल्डिङबाट तय भएको मूल्य, वित्तीय विवरण, संस्थागत लगानीकर्ताले खरिद गरेको सेयर, लगानीको सुरक्षालगायत विषयमा सिआइबीमा उजुरी परेको थियो।
कम्पनीले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेकाहरूलाई सेयर जारी गर्ने तयारी गरेको भए पनि रोकिएको थियो।
कम्पनीले प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्ने तयारी गरेको थियो।
योग्य संस्थागत लगानीकर्ताले बोलकबोलबाट हालेको मूल्य अनुसार कम्पनीको सेयरको कट अफ मूल्य प्रतिकित्ता ९ सय १२ रूपैयाँ निस्किएको थियो।