राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०–८१ मा निजी क्षेत्रतर्फ जाने कर्जाको लक्ष्य ११.५ प्रतिशत राखेको भए पनि त्यो लक्ष्य पूरा हुन सकेन।
आर्थिक शिथिलताले कर्जा मागमा आएको कमी र राष्ट्र बैंकले चालु पुँजी कर्जा लगायतमा गरेको केही नीतिगत कडाइले समेत कर्जा विस्तार लक्ष्य अनुसार हुन नसकेको हो।
गत आर्थिक वर्षभरीमा निजी क्षेत्रतर्फ गएको कर्जा ५.८ प्रतिशतले बढेर ५० खर्ब ७३ अर्ब रूपैयाँ पुगेको छ। यसअघि यस्तो कर्जा ३.८ प्रतिशतले बढेर ४७ खर्ब ९७ अर्ब रूपैयाँ पुगेको थियो।
बैंकहरूको पाकेर पनि उठाउन नसकेको ब्याज एक खर्ब १९ अर्ब रूपैयाँ छ।
यही कारण समग्र निजी क्षेत्रको बैंकमा दाबी ६.१ प्रतिशतले बढेर ५२ खर्ब दुई अर्ब पुगेको छ। यसअघि उठाउन नसकेको ब्याज ९९ अर्ब ७८ करोड रूपैयाँ थियो।
क्षेत्रगत आधारमा सबैभन्दा धेरै कर्जा उपभोगमा गएको छ। यसमा १० खर्ब १३ अर्ब रूपैयाँ कर्जा लगानी भएको हो।
व्यक्तिगत अटो कर्जा, शैक्षिक कर्जा, व्यक्तिगत आवास कर्जा र ५० लाख रूपैयाँसम्मको उद्देश्य नखुलाइएको कर्जा उपभोग कर्जामा उल्लेख गरिँदै आएको छ।
होलसेल र खुद्रा व्यापारमा नौ खर्ब ९९ अर्ब रूपैयाँ, उत्पादनमूलक उद्योगहरूमा आठ खर्ब १९ अर्ब रूपैयाँ, कृषि र यससँग सम्बन्धितमा चार खर्ब १८ करोड रूपैयाँ र यातायात, सञ्चार तथा सेवा क्षेत्रमा चार खर्ब १२ अर्ब कर्जा लगानी भएको छ। निर्माण क्षेत्रमा दुई खर्ब सात अर्ब रूपैयाँ कर्जा लगानी छ।
बैंकहरूको प्रडक्टको आधारमा सबैभन्दा धैरै आवधिक कर्जा गएको छ। यसमा १९ खर्ब ३१ अर्ब कर्जा गएको हो। माग र चालु पुँजी कर्जामा सात खर्ब २५ अर्ब रूपैयाँ कर्जा लगानी भएको छ।
त्यस्तै, व्यक्तिगत घरजग्गा र रियल स्टेटमा ६ खर्ब ५५ अर्ब रूपैयाँ कर्जा लगानी भएको छ। यस्तो कर्जा ९.६ प्रतिशतले बढेको हो।
सेयर धितोमा ९० अर्ब रूपैयाँ कर्जा लगानी भएको छ। यो कर्जा १८.१ प्रतिशतले बढेको हो।
सवारी कर्जा २२ प्रतिशतले घटेर एक खर्ब २४ अर्ब रूपैयाँमा सीमित भएको छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि भइरहेको छ। बैंकहरूमा संकलन भएको निक्षेप वार्षिक सात खर्ब ४२ अर्ब रूपैयाँले बढेको छ। निक्षेप १३ प्रतिशतले बढेको हो।