बैंकका सहायक कम्पनीहरूले म्युचुअल फन्डका विभिन्न योजना जारी गर्छन्। प्रतिइकाई दस रूपैयाँ रहने यस्ता म्युचुअल फन्डमा सर्वसाधारणले न्यूनतम एक सय इकाई अर्थात एक हजार रूपैयाँ मात्रै पनि लगानी गर्न सक्छन्।
जोखिम लिन नचाहने र सेयर बजारबारे धेरै चासो नहुनेलाई म्युचुअल फन्डको लगानी उपयुक्त हुन्छ।
एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सृजेश घिमिरे भन्छन्, ‘सेयर बजारमा निरन्तर लागिरहन समय नहुने, कम्पनीबारेमा राम्ररी अध्ययन गर्न नसक्नेका लागि म्युचुअल फन्डको लगानी नै राम्रो हो।’
लगानी गर्न चाहनेलाई हाल कुमारी इक्विटी फन्डका लागि आवेदन खुलिरहेको छ। म्यचुअल फन्ड दोस्रो बजार (नेप्से) मा खरिद/बिक्री पनि गर्न पाइन्छ।
दोस्रो बजार (नेप्से) मै अहिले केही नयाँ म्युचुअल फन्ड प्रतिइकाई दसदेखि एघार रूपैयाँका बीचमा किन्न पाइन्छ। हाल नेप्सेमा बीस वटा फन्ड योजना सूचीकृत छन्।
नेपालमा म्युचुअल फन्डबारे जानकारी अभाव र लगानीका लागि प्रोत्साहनमूलक नीति नहुनाले पनि यसको अझै विकास हुन नसकेको घिमिरेको ठम्याइ छ।
कसैसँग पाँच हजार रूपैयाँ मात्रै छ भने उसले दोस्रो बजारबाट मध्यम बैंकको दस कित्ता मात्रै सेयर किन्न सक्छ। तर म्युचुअल फन्डमार्फत गरिने त्यो पाँच हजार लगानी धेरै कम्पनीको सेयर, ऋणपत्रमा लगानी हुन्छ। यसले जोखिम कम हुन्छ भने लगानी विविधीकरण हुन्छ।
भारतमा म्युचुअल फन्डलाई सरकारी तवरबाटै प्रोत्साहन गरिँदा यसको आकार अत्यधिक बढेको छ। भारतमा सन् २०१० मा समग्र म्युचुअल फन्डको आकार ६० खर्ब भारूको थियो भने २०२० मा आउँदा बढेर ३ सय खर्बको पुगेको छ। नेपालमा म्युचुअल फन्डको आकार २० अर्बको हाराहारीमा छ।
म्युचुअल फन्डमा गरेको लगानीबाट कसरी हुन्छ फाइदा?
सर्वसाधारणले म्युचुअल फन्ड भनेर प्रतिइकाई दस रूपैयाँका दरले किनेको यो रकम योजना व्यवस्थापक (बैंकका सहायक कम्पनी) ले संकलन गरी विभिन्न क्षेत्रमा लगानी गर्छन्।
म्युचुअल फन्डले कुन-कुन क्षेत्रमा लगानी गरेका छन् भन्नेबारे महिनैपिच्छे विवरण सार्वजनिक गर्छन्। म्युचुअल फन्डको अधिकतम रकम सेयर, ऋणपत्रजस्ता धितोपत्रमा नै लगानी हुने गरेको घिमिरे बताउँछन्। कतिपय म्युचुअल फन्डको ९० प्रतिशतसम्म सेयर, ऋणपत्रमा लगानी हुन्छ भने केहीको ६०-६५ प्रतिशत मात्रै हुन्छ।
त्यसैले सेयर बजार बढ्दै जाँदा म्युचुअल फन्डको सम्पत्ति मूल्य (एनएभी) पनि बढ्दै जान्छ। सेयर र ऋणपत्रबाट प्राप्त भइसकेको नाफाबाट म्युचुअल फन्डका लगानीकर्तालाई लाभांश दिइन्छ। अथवा सो नाफा तुरुन्त नदिई योजना व्यवस्थापकले लगानीकै रूपमा थप गरी खुद सम्पत्ति मूल्य (एनएभी) मजबुत बनाउँदै जान्छन्।
‘नाफा नदिएर लगानी गरे पनि आखिर लगानीकर्ताको सम्पत्ति मूल्य बढ्दै जाने हो,’ घिमिरेले भने। मानौं कुनै योजनाको एनएभी १५ छ भने, त्यो योजनामा प्रतिइकाई दस रूपैयाँ लगानी गर्नेको सम्पत्ति ५० प्रतिशतले बढेर १५ पुग्नु हो।
फन्डको एनएभी कति पुग्यो भन्नेबारे जानकारी योजना व्यवस्थापकको वेबसाइटमार्फत लिन सकिन्छ। हप्ता हप्ताको मूल्य हेर्न पाइन्छ। सामान्यतः सेयर बजार बढ्दै जाँदा एनएभी पनि बढ्दै जान्छ भने बजार घटेका बेला घट्छ।
म्युचुअल फन्डले निश्चित परिपक्व अवधि तोकेका हुन्छन्। सामान्यतः पाँचदेखि दस वर्षका फन्ड जारी हुन्छन्। फन्डको परिपक्व अवधि सकिन लागेपछि योजना व्यवस्थापकले सबै सेयर, ऋणपत्रहरू बिक्री गर्दै जान्छन्।
यसरी सेयर र ऋणपत्र बिक्री गरेर नगदमा रकम संकलन गरी लगानीकर्तालाई सम्पूर्ण रूपमा (एनएभी बराबरकै रकम) फिर्ता दिन्छन्। योजना व्यवस्थापकले म्युचुअल फन्डको रकम सही रूपमा परिचालन गर्न विज्ञको टिम नै बनाएर राम्रा राम्रा कम्पनीको सेयरमा लगानी गर्छन्। आफ्नो मूल कम्पनीको सेयर भने खरिद गर्न पाइँदैन।
सैद्धान्तिक र प्राविधिक दुवै पक्षबाट कम्पनी र बजारको अध्ययन गरेर मात्रै म्युचुअल फन्डहरूले सेयरमा लगानी गर्ने गरेको एनएमबी क्यापिटलका सिइओ घिमिरे बताउँछन्।
‘सेयर खरिद गर्न कम्पनीको बिजनेस ग्रोथ कस्तो छ, भोलि कति लाभांश दिन सक्ला जस्ता कम्पनीका भित्री तथ्यहरू हेर्छौं,’ घिमिरेले भने, ‘सँगसँगै बजार कता गइरहेको छ, त्यसलाई प्रभाव पार्ने तत्वहरू- ब्याजदर, नीतिगत रूपमा हुने परिवर्तन लगायत अध्ययन गर्छौं।’
सोही टिमले सेयरमा ‘अन्डरभ्यालुड’ र ‘ओभरभ्यालुड’ कम्पनी छनौट गर्छ। अन्डरभ्यालुड ठानिएका कम्पनीको सेयर खरिद गर्छ भने ओभरभ्यालुड कम्पनीको सेयर नाफा लिएर बिक्री गर्न सक्नेछ।
त्यसरी लिइएको नाफा पुनः अन्डरभ्यालुड ठानिएका कम्पनी वा ऋणपत्र, निक्षेप लगायतमा लगानी पनि हुन सक्नेछ वा लगानीकर्तालाई लाभांशका रूपमा प्रदान गर्न पनि सक्छन्।
म्युचुअल फन्डहरूलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्दा पहिले नै ५ प्रतिशत छुट्याइन्छ।
‘पहिले नै छुट्याइएको आइपिओले केही न केही रूपमा नाफालाई सहयोग त अवश्य गरेको छ,’ घिमिरेले भने।
बजारमा सेयरको माग र आपूर्ति सन्तुलनमा राख्न म्युचुअल फन्ड योजना व्यवस्थापकको भूमिका हुन्छ। जब मूल्य बढ्दै गएको हुन्छ, त्यसपछि योजना व्यवस्थापकले बेच्न थाल्छन्, जसले आपूर्ति बढ्न गई बजार सन्तुलित हुन जान्छ। बजार सन्तुलित हुँदा साना लगानीकर्ता फस्न सक्ने जोखिम कम हुन्छ।
त्यस्तै मूल्य घटेका बेला व्यवस्थापकले सेयर खरिद गरी माग बढाउँछन्, यसले धेरै मूल्य घट्न पाउँदैन।
एक योजनाले कुल लगानीमा एक कम्पनीको सेयरमा दस प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था छ। म्युचुअल फन्ड व्यवस्थापकले ब्रोकर कम्पनीहरूबाटै सेयर किन्ने र बेच्ने गर्छन्। उनीहरूले किन्ने र बेच्ने सेयरको परिमाण केही ठूलो हुन्छ।
माघ मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार म्युचुअल फन्डहरूले कुन-कुन कम्पनीको धेरै रकमको सेयर होल्ड गरेका छन् त?
एनआइसी एसिया ब्यालेन्स फन्ड
सेयर होल्ड भएका कम्पनी | सेयरको मूल्य |
नबिल | ५ करोड ३१ लाख |
नेपाल लाइफ | ४ करोड ५० लाख |
नेको इन्स्योरेन्स | २ करोड ९२ लाख |
प्रभु | २ करोड ८५ लाख |
कृषि विकास | २ करोड ३५ लाख |
प्राइम कमर्सियल | १ करोड ९८ लाख |
नेसनल लाइफ | १ करोड ८१ लाख |
मुक्तिनाथ विकास | १ करोड ७९ लाख |
डिप्रोक्स लघुवित्त | १ करोड ६७ लाख |
एनएमबी बैंक | १ करोड ५७ लाख |
एनआइबिएल म्युचुअल फन्ड
सेयर होल्ड भएका कम्पनी | सेयरको मूल्य |
नबिल | ६ करोड ८७ लाख |
डिप्रोक्स लघुवित्त | ४ करोड २१ लाख |
चिलिमे हाइड्रोपावर | ३ करोड ३९ लाख |
लाइफ इन्स्योरेन्स | २ करोड ४२ लाख |
प्राइम कमर्सियल | २ करोड २३ लाख |
माछापुच्छ्रे बैंक | २ करोड २० लाख |
सानिमा बैंक | १ करोड ९१ लाख |
निर्धन उत्थान विकास | १ करोड ९१ लाख |
बैंक अफ काठमाण्डु | १ करोड ८० लाख |
कृषि विकास | १ करोड ६७ लाख |
नबिल ब्यालेन्स फन्ड-२
सेयर होल्ड भएका कम्पनी | सेयरको मूल्य |
साधना लघुवित्त | ५ करोड १२ लाख |
नेपाल बैंक | ४ करोड ९६ लाख |
प्राइम लाइफ इन्स्योरेन्स | ४ करोड २३ लाख |
प्राइम कमर्सियल बैंक | ४ करोड ७ लाख |
ग्लोबल आइएमई बैंक | ३ करोड ७८ लाख |
सनराइज बैंक | ३ करोड ७६ लाख |
एनआइसी एसिया बैंक | ३ करोड ४५ लाख |
नेपाल लाइफ इन्स्योरेन्स | ३ करोड ५ लाख |
माछापुच्छ्रे बैंक | ३ करोड ४ लाख |
मेगा बैंक/हिमालय डिस्टिलरी | ३ करोड |
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२
सेयर होल्ड भएका कम्पनी | सेयरको मूल्य |
एनआइसी एसिया बैंक | १२ करोड १३ लाख |
प्रभु बैंक | ८ करोड ३५ लाख |
नेको इन्स्योरेन्स | ८ करोड १७ लाख |
नबिल बैंक | ६ करोड ८६ लाख |
नेपाल टेलिकम | ६ करोड ६९ लाख |
नेपाल लाइफ इन्स्योरेन्स | ६ करोड ६४ लाख |
लाइफ इन्स्योरेन्स | ६ करोड ५४ लाख |
शिखर इन्स्योरेन्स | ६ करोड ५१ लाख |
सानिमा बैंक | ५ करोड १० लाख |
पुनर्बीमा कम्पनी | ४ करोड ४० लाख |
एनएमबी- ५०
सेयर होल्ड भएका कम्पनी | सेयरको मूल्य |
एनआइसी एसिया बैंक | ६ करोड ४ लाख |
नेको इन्स्योरेन्स | ५ करोड ७६ लाख |
प्राइम कमर्सियल | ५ करोड ५५ लाख |
छिमेक लघुवित्त | ५ करोड ५० लाख |
नेसनल माइक्रोफाइनान्स | ५ करोड २८ लाख |
सानिमा बैंक | ५ करोड |
माछापुच्छ्रे बैंक | ४ करोड ७६ लाख |
बैंक अफ काठमाण्डु | ४ करोड ५७ लाख |
कृषि विकास बैंक | ४ करोड ४९ लाख |
सिद्धार्थ बैंक | ४ करोड ४४ लाख |
सानिमा इक्विटी फन्ड
सेयर होल्ड भएका कम्पनी | सेयरको मूल्य |
एनआइसी एसिया | १४ करोड ४३ लाख |
नबिल | ११ करोड ५६ लाख |
पुनर्बीमा कम्पनी | ८ करोड १ लाख |
प्राइम कमर्सियल बैंक | ७ करोड ४७ लाख |
नेपाल बैंक | ७ करोड २१ लाख |
साना किसान विकास बैंक | ६ करोड ३ लाख |
प्रभु बैंक | ५ करोड ४४ लाख |
आरएमडिसी लघुवित्त | ४ करोड ९४ लाख |
लाइफ इन्स्योरेन्स कर्पोरेसन | ४ करोड ३८ लाख |
नागरिक लगानी कोष | ४ करोड १२ लाख |
लक्ष्मी इक्विटी फन्ड
सेयर होल्ड भएका कम्पनी | सेयरको मूल्य |
नेसनल लाइफ इन्स्योरेन्स | ५ करोड ११ लाख |
एभरेष्ट बैंक | ४ करोड ८४ लाख |
इन्भेष्टमेन्ट बैंक (संस्थापक) | ३ करोड ९० लाख |
हिमालयन डिस्टिलरी | ३ करोड ६ लाख |
एनआइसी एसिया बैंक | २ करोड ८७ लाख |
सिद्धार्थ बैंक | २ करोड ४३ लाख |
एनएमबी बैंक | २ करोड ४० लाख |
नेपाल पुनर्बीमा कम्पनी | २ करोड ४० लाख |
एसबिआई बैंक | २ करोड ३३ लाख |
सिद्धार्थ इन्स्योरेन्स | २ करोड १३ लाख |
सिटिजन्स म्युचुअल फण्ड
सेयर होल्ड भएका कम्पनी | सेयरको मूल्य |
नबिल बैंक | ६ करोड ४ लाख |
इन्फ्रास्ट्रक्चर बैंक | २ करोड १८ लाख |
प्राइम कमर्सियल | २ करोड १४ लाख |
नबिल ब्यालेन्स फण्ड | २ करोड १० लाख |
नेपाल लाइफ इन्स्योरेन्स | २ करोड ४ लाख |
छिमेक लघुवित्त | १ करोड ८४ लाख |
एनएमबि बैंक | १ करोड ६९ लाख |
एनआइसी एसिया बैंक | १ करोड ६२ लाख |
साना किसान विकास बैंक | १ करोड ५६ लाख |
निर्धन उत्थान/स्वाबलम्बन लघुवित्त | १ करोड ३८ लाख |