२ वर्ष मलेसिया बसेर फर्किएका अर्घाखाँची सन्धिखर्कका प्रविन बेल्बासे सहुलियत व्याजमा ऋण पाइने आशामा नजिकैको एक बैंकमा गए। तर बैंकका कर्मचारीहरुले सहुलियत व्याजको ऋण दिने कार्यक्रम अहिले नभएको भन्दै उनलाई फर्काइदिए।
‘वैदेशिक रोजगारबाट फर्केकालाई सस्तो व्याजमा ऋण पाइन्छ भन्ने सुनेर बैंकमा गएँ, कार्यक्रम छैन भने’ उनले सेतोपाटीसँग भने। घरमै भएको कुखुरापालन व्यवसायलाई बढाउनका लागि उनले बैंकबाट ऋण लिन खोजेका थिए। अहिले आफन्तीबाटै केही रकम जुटाएर कुखुरापालनमा लागेका छन्।
उनीजस्तै कतिपयले राष्ट्र बैंकमै सहुलियत व्याजको ऋण नपाएको गुनासो गरेका छन्। राष्ट्र बैंक नियमन विभाग प्रमुख नारायण पौडेलले बैंकहरुले ऋण नदिएको गुनासोहरु आएको बताए। ‘कतिपयले कार्यक्रम नभएको भन्दै पन्छिने गरेको पाइयो’ उनले भने ‘बैंकहरुलाई सहुलियत व्याजको ऋण दिनका लागि निर्देशन दिएका छौँ।’
राष्ट्र बैंकले गत असोजदेखि विभिन्न सात शिर्षकमा सहुलियत व्याजमा कर्जा दिनेगरी कार्यक्रम ल्याएको हो। ति कार्यक्रमहरु कार्यान्वयन गर्ने दायित्व बोकेका वाणिज्य बैंकहरुले भने पूर्ण रुपमा असहयोग गर्दै आएका छन्। सहुलियत व्याजका कार्यक्रमबारे राम्ररी जानकारी गराउनु त परैको कुरा, कार्यक्रम नै नभएको भन्दै ग्राहकलाई फर्काउने गरेका छन्।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्यबाहेक अन्य बैंकहरुले सहुलियत व्याजको ऋण दिन आनाकानी गर्दै आएका छन्। कर्मचारीहरुले कार्यक्रम छैन भन्दै फर्काइरहँदा बैंकका प्रमुख कार्यकारीहरुले आवेदन नै नआएको दावी गर्दै आएका छन्।
बिनाधितो सानो सानो कर्जा दिनुपर्ने प्रक्रियागत झन्झट ठानेरै बैंकहरु यस्ता कार्यक्रमप्रति अनिच्छुक हुँदै आएका छन्। व्यवसाय नै धितो हुने र ऋण लिनेको निगरानी समेत गर्नुपर्ने हुँदा बैंकहरुले झन्झट मानेको हुन सक्ने जानकार बताउँछन्।
यद्यपी यस्ता कार्यक्रममा बैंकहरुलाई जोखिम नरहेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ बताउँछन्। ‘व्यवसायको बीमा हुने भएकाले बैंकहरुलाई जोखिम हुँदैन, राष्ट्रिय वाणिज्य बैंकले यस्ता व्यवसायका लागि ऋण दिइरहेको छ’ उनले दावी गरे।
राष्ट्र बैंकको तथ्यांकमा सहुलियत व्याजमा गएको ऋण रकम समेत एकदमै न्यून देखिएको छ। माघ मसान्तसम्म शिक्षित युवा स्वरोजगार कार्यक्रममा ३८ लाख रुपैयाँ मात्रै प्रवाह भएको छ। जसबाट ६ जनाले मात्रै लाभ लिएका छन्।
वैदेशिक रोजगारबाट फर्केकाले लिएको ऋण रकम जम्मा ४१ लाख रुपैयाँ मात्रै छ। महिला उद्यमशिलतामा २ करोड ८२ लाख रुपैयाँ, दलित समुदायमा २६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। उच्च तथा प्राविधिक शिक्षा अध्ययनका लागि २ जनाले १० लाख रुपैयाँ ऋण लिएका छन्।
कृषि कामका लागि जाने ऋण उच्च देखिए पनि धेरै किसानहरुमा यो कार्यक्रम पुग्न सकेको छैन। माघ मसान्तसम्मको तथ्यांकअनुसार ११ हजार ६५ जनाले १९ अर्ब ८६ करोड रुपैयाँ कृषि कामका लागि सहुलियत व्याजमा ऋण लिएका छन्।
महिला, दलित समुदाय, शिक्षित बेरोजगार युवा, प्राविधिक शिक्षा अध्ययन गर्न चाहने युवा, कृषि काम गर्न चाहने युवाहरुलाई समेत लक्षित गर्दै सरकारले गत असोजदेखि सहुलियत व्याजमा ऋण दिने कार्यक्रम ल्याएको हो।
महिलाले गर्ने व्यवसायका लागि ६ प्रतिशत र अन्यमा ५ प्रतिशत व्याज अनुदान दिइन्छ। आधार दरमा बढीमा २ प्रतिशत जोडेर हुने व्याजदरमा सरकारले दिने ५ वा ६ प्रतिशतको दर घटाएपछि बाँकी ऋणीले तिर्ने हो।
तर व्याज अनुदान पाइने यस्ता कार्यक्रमबाट सम्बद्ध पक्षले नै लाभ नपाउनु र बैंकहरुले निर्देशनलाई नटेर्नुले नियामकको सक्षमता कमजोर रहेको पुष्टि गर्दछ। कार्यक्रम कार्यान्वयनका लागि राष्ट्र बैंक निकम्मा बनिरहने हो भने सम्बद्ध पक्षले कहिल्यै पनि यस्ता कार्यक्रमको लाभ पाउने छैनन्।