लगानीकर्ताले सेयर बजारअनुकुल अर्थमन्त्री चाहने र पुँजी बजारको ट्रेन्डलाई अर्थमन्त्रीले पनि आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएको पाइन्छ।
त्यसैले त बजेट भाषण गर्दा नै अर्थमन्त्रीले आफ्नो कार्यकालमा नेप्सेको ट्रेन्डलाई समेत समेट्ने गरेका छन्। अर्कोतर्फ पुँजी बजारअनुकुल अर्थमन्त्री आउने संकेत पाउनेवित्तिकै बजार पनि उक्लिने गरेको र त्यसको उल्टो संकेत देखिएमा घट्ने गरेको पाइन्छ।
गणतन्त्र आएदेखि अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने २०६८ सालमा माओवादीका वर्षमान पुनः अर्थमन्त्री हुँदा सबैभन्दा न्यून २९१ सम्म नेप्से झरेको रेकर्ड छ। माओवादीले पहिलो पटक सरकारको नेतृत्व गर्दै अर्थमन्त्रालय सम्हाल्नुले लगानीकर्तामा शंका बढ्यो, जसले गर्दा आजसम्म त्यो अंक नै न्यूनतमको रेकर्डमा छ।
२०७२ पुसमा ११ सय ८० अंकमा नेप्से पुगेपछि त्यसअघिका सबै उच्च रेकर्ड तोडिएका थिए। त्यसबेला अर्थमन्त्रीका रुपमा विष्णु पौडेल थिए।
२०७३ साउनमा नेप्सेले १८८१ अंक पुगेर अहिलेसम्मकै रेकर्ड कायम गरेको छ। त्यतिबेला नेपाली कांग्रेसको समर्थनबाट प्रचण्ड नेतृत्वमा नयाँ सरकार बन्ने निश्चित भइसकेको थियो भने केपी ओली नेतृत्वको सरकारले राजीनामा घोषणा गरिसकेको थियो। ओली नेतृत्वका बेला अर्थमन्त्रीका रुपमा विष्णु पौडेल नै थिए भने पछि प्रचण्डको नेतृत्वका बेला कृष्णबहादुर महरा आए।
यतिबेला नयाँ सरकार बन्ने प्रक्रियामा रहेकाले सेयर लगानीकर्तामा अर्थमन्त्री सबैभन्दा चासोको विषय देखिएको छ। चुनावअघि नै प्रधानमन्त्रीको रुपमा ओलीलाई बुझिसकेका धेरै लगानीकर्ताले अर्थमन्त्री भने अहिलेसम्म अनुमान गर्न सकेका छैनन्।
नयाँ प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले नेतृत्व सम्हाल्ने दिन नेप्सेमा आएको वृद्धि दुई दिन पनि टिक्न सकेन। उनी प्रधानमन्त्री भएको दिन ३६ अंकले बढेको बजार त्यसपछि घटिरहेको छ। यसको मुख्य कारणका रुपमा नयाँ अर्थमन्त्रीको अन्यौलतालाई लिइने गरेको छ।
नयाँ अर्थमन्त्रीप्रति लगानीकर्ताको खुवै चासो हुने भएपछि त्यसैलाई कतिपयले किन्न र बेच्नका लागि अनेक हल्ला चलाएर सही मौका समेत बनाउन खोजेको पाइन्छ।
पूर्व गभर्नर युवराज खतिवडासहित राष्ट्रिय सभामा तीन जना सिफारिस भइसकेपछि, कतिपयले उनलाई पनि कारण ठम्याए। सामाजिक संजालमै लगानीकर्ताहरुबीच उनको विषयलाई लिएर वहस भयो।
‘पुँजी बजारलाई अनुत्पादकका क्षेत्रका रुपमा उनले लिँदै आएका हुन्, उनी अर्थमन्त्री भएमा केही कडाई हुन सक्छ भन्ने आशंका लगानीकर्तामा देखियो’ एक लगानीकर्ताले नाम उल्लेख नगर्न भन्दै भने ‘अहिले सेयर धितोमा दिइँदै आएको ५० प्रतिशत कर्जामा अझै कडाई गरिन सक्छ।’
यीबाहेक बजार सुधारका लागि यतिबेला धेरै कामहरु प्रक्रियागत रुपमा भइरहेकाले त्यसमा पनि अंकुश लाग्न सक्ने कतिपयको अनुमान छ। उनका अनुसार ब्रोकर कम्पनीहरुबाटै मार्जिन लेन्डिङको सुविधा दिने प्रक्रिया अघि बढिरहेको छ भने गैर आवासीय नेपालीलाई समेत भित्र्याउने पहल भएको छ। नेप्से निजीकरणका सवालहरु पनि उठिरहेका छन्।
यदी यी प्रक्रियालाई साथ दिनेगरी अर्थमन्त्री आएमा भने बजार बढ्न सक्ने लगानीकर्ताको अनुमान छ। पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदी धेरै लगानीकर्तामा यतिबेला नयाँ अर्थमन्त्रीको प्रतिक्षा रहेको बताउँछन्।
विगतका अर्थमन्त्रीहरुसँग पटक पटक भेट्दै आफ्ना मागहरु पुरा गर्न दवाव दिँदै आएका लगानीकर्ता यतिबेला तिनै मागलाई सम्वोधन गर्ने व्यक्ति चाहेका छन्। ‘नेतृत्व तहले हाम्रा मागलाई उचित रुपमा सम्वोधन गर्ने खालको होस्, पुँजी बजारलाई उत्पादनमूलक क्षेत्रका रुपमा हेरियोस् भन्ने चाहना हाम्रो हो’ सुवेदीले भने।
ब्रोकर कमिसन घटाउनुपर्ने, सेयर धितोमा दिइँदै आएको ५० प्रतिशत कर्जालाई बढाउनुपर्ने, मार्केड डिलर ल्याउनुपर्ने, गैर आवासीय नेपालीको लगानीलाई बजारमा सहज बनाउनुपर्ने, अनलाइन ट्रेडिङको विकास चाँडो गर्नुपर्ने, बैंकहरुलाई ब्रोकर लाइसेन्स दिइनुपर्ने, नेप्सेलाई निजीकरण गर्नुपर्ने लगायतका माग उनीहरुले राख्दै आएका छन्।
अर्कोतर्फ बाम गठबन्धनकै सरकार हुने, लामो अवधिको कार्यभार सम्हाल्ने भएकाले पनि यतिबेलाका अर्थमन्त्रीलाई विशेष चासोका रुपमा रहेको छ।
नयाँ अर्थमन्त्रीको विषयलाई आफूअनुकुल समेत जोडेर व्याख्या गरिएकाले जो आए पनि सेयर लगानीकर्ता डराउन र उचालिन नपर्ने कतिपयको विश्लेषण छ। ‘बजारमा किन्न र बेच्न खोज्नेहरुले एउटा एउटा कारण देखाएर उचालेका हुन्छन्, अर्थमन्त्रीको प्रसंग पनि त्यही हो’ लगानीकर्ता सन्तराज भण्डारीले भने।
बेच्न चाहनेले बजार बढाउनेगरी कारण देखाएर हौसाउने र किन्न चाहनेले घटाउनेगरी कारण देखाउने चलन पुरानै रहेको उनले बताए। सरकार गठन प्रक्रियाका बेला अझ टड्कारो रुपमा यस्ता विषयलाई अनावश्यक उचाल्ने गरिएको उनको बुझाई छ। ‘केपी ओली प्रधानमन्त्री हुने दिन ३६ अंकले बढेको बजार किन दुई दिन पनि टिक्न सकेन?’ उनले भने ‘फेरि अहिले अर्थमन्त्रीलाई कारण बनाइँदैछ।’
यतिबेला बैंकिङ प्रणालीमा ब्याज घट्नुको साटो बढिरहेको र सेयर आपूर्ति पनि ज्यादा भएकाले घटिरहेको उनले दावी गरे। यी दुवै कुरामा सन्तुलन आएमा मात्रै बजारले गति लिने उनको भनाई छ। ‘अहिलेको अवस्थामा बजार धेरै बढ्नुपर्ने वा घट्नुपर्ने कारण नै मैले देख्दिनँ’ १२ वर्षदेखि बजारमा लागेका उनले भने ‘नयाँ अर्थमन्त्री बजारका लागि चासोको विषय भए पनि त्यही कारणले डराउनुपर्ने वा उचालिनुपर्ने होइन।’
सरकार गठनका बेला अनावश्यक हल्लाले समेत प्रभावकारी परिणाम देखाउने गरेको उनको बुझाई छ। ‘छोटो छोटो अवधिमा नाफा लिन खोज्नेहरुलाई म ट्रेडर्स भन्ने गरेको छु, तिनैले बढी हल्ला गर्ने गरेका हुन्’ उनले भने ‘बजारमा लाग्नेहरुले क्षणिक लाभ वा नोक्सान हेर्नु हुँदैन।
नयाँ अर्थमन्त्री जो आए पनि त्यसैलाई मुख्य कारण मानेर खरिद वा बिक्री गर्न नहुनेमा उनले सुझाव दिए। ‘कम्पनीका वित्तीय विवरणहरु हेर्ने हो, प्रगति केलाउने हो, अनि बल्ल लगानीको निर्णय गर्ने हो, हल्लाका भरमा होइन’ उनले भने।