आजदेखि सार्वजनिक सेयर निश्कासनमा सिआस्बा प्रणाली अनिवार्य भएको छ। सिडिएस एण्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आजदेखि निश्कासन भएको सान्जेन र रसुवागढी जलविद्युत आयोजनाको सेयरमा सिआस्बा सुरु भएको छ। कर्मचारी संचयकर्ता, कोषका कर्मचारी, कम्पनीका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारीलगायतलाई ति आयोजनाको सेयर निश्कासन भएको छ।
हालसम्म ६० वटा बैंक तथा वित्तीय संस्थाहरुले सिआस्बा सेवा प्रदान गर्नका लागि स्वीकृति लिइसकेको न्यौपानेले जानकारी दिए। यसअघि माघ ९ गतेदेखि नै सिआस्बा अनिवार्य गर्ने भनिए पनि धितोपत्र बोर्डको निर्देशनपछि रोकिएको थियो।
सिआस्बा अनिवार्य भइसकेपछि एक सातामै बिक्री प्रवन्धकले प्राथमिक निश्कासनको बाँडफाँड गर्न सक्ने उनले बताए। हाल विभिन्न कम्पनीको आइपिओ तथा एफपिओ खुलेको एक महिनामा मात्रै बाँडफाँड हुने गरेको छ।
‘यसबाट आवेदन दिनेको डिम्याट खाता भेरिभाइ भइसकेको हुन्छ, त्यसकारण प्रोसेसिङ लामो हुँदैन’ उनले भने ‘एक सातामा सहजै बाँडफाँड गर्न सकिन्छ।’
सिआस्बा अनिवार्य लागू भइसकेपछि लगानीकर्ताले घरमै बसेर आइपिओ, एफपिओ तथा हकप्रदका लागि आवेदन दिन सक्नेछन्।
न्यौपानेका अनुसार सिआस्बा अनिवार्य गरिएपछि परम्परागत प्रक्रियाबाट अर्थात सिआरएन नम्वर नभएका आवेदन लिइने छैन। लगानीकर्तालाई पनि सम्वन्धित खाता भएको बैंकमा गई सिआरएन नम्वर लिन उनले आग्रह गरे।
सिडिएससीका अनुसार अब खुल्ने कुनै पनि संस्थाको आइपिओ तथा एफपिओमा यही प्रणालीबाट मात्रै आवेदन दिइनुपर्नेछ।
सिआस्बामार्फत कसरी भर्ने सेयर आवेदन ?
यसअघि नै लागू भएको आस्बा प्रणालीको विकसित रुप सिआस्बा हो। ‘एप्लिकेसन सपोर्टेड बाई ब्लक एमाउन्ट’लाई छोटो रुपमा आस्बा भन्ने गरिन्छ। त्यसैको अगाडि सि अर्थात ‘सेन्ट्रलाइज्ड’ थपिएर ‘सिआस्बा’ भएको हो।
यस प्रणालीबाट आवेदन दिइसकेपछि तोकिएको रकम बैंक खातामै ब्लक हुन्छ भने आवेदन एकीकृत भई विक्री प्रवन्धकले पाउँछ। विक्री प्रवन्धकले आवेदन पाएपछि उसले डिम्याट खाता रुजु गरिरहनु पर्दैन। अर्थात यदी डिम्याट खाता गलत भएमा सफ्टवेयरले आवेदन नै लिँदैन।
यस प्रणालीमार्फत आवेदन दिनका लागि लगानीकर्ताले सबैभन्दा पहिले आफ्नो खाता भएको बैंकमा गई सि।आर।एन। अर्थात रजिस्ट्रेसन नम्वर लिनु पर्दछ। सो नम्वर लिइसकेपछि सिआस्बाको भौचर भरेर बैंकका कर्मचारीको सहयोगमा वा आफैले इन्टरनेटका माध्यमबाट आवेदन गर्न सकिनेछ।
आफैले इन्टरनेटका माध्यमबाट आवेदन गर्नका लागि सिआरएन नम्वर लिएर पुनः डिम्याट खाता भएको कम्पनीमा गई लगानीकर्ताले आफ्नो ‘लगीन आइडी’ र ‘पासवर्ड’ लिनुपर्दछ।
आइडी तथा पासवर्ड लिइसकेपछि सेयर आवेदन खुलेका बेला इन्टरनेटको माध्यमबाट घरमै बसेर आवेदन दिन सकिनेछ। ‘मेरो सेयर’ नामको एप्लिकेसन खोलेर त्यसमा डिपी (डिम्याट खाता भएको कम्पनीको नाम), आइडी र पासवर्ड खोलेर लगइन गर्नुपर्दछ।
लगइन गरिसकेपछि आवेदकले बैंक नाम, खाता नम्वर, सिआरएन नम्वरसहितका विवरणहरु भरेर ‘सबमिट’ गर्न सक्नेछन्।