सेयर बजारको परिसूचक नेप्से मंगलबार १७ अंकले खस्किएको छ। १७.१८ अंकले झरेर बजार १३९६ अंकमा कायम भएको छ। यस दिन १६० कम्पनीको ४० करोड ५८ लाख रुपैयाँको कारोबार भयो।
यस दिन होटल र अन्यबाहेकका सबै उपसूचक घटेका छन्। होटल ३ र अन्य १ अंकमुनि हरियो रहे।
बैंकिङ १५, व्यापार ३, विकास बैंक १८, जलविद्युत २५, फाइनान्स २, बिमा ११०, माइक्रोफाइनान्स ३७ तथा उत्पादन ५० अंकले घटेका छन्।
यस दिन नेपाल लाइफ इन्स्योरेन्स संस्थापकतर्फको सबैभन्दा बढी रकमको कारोबार भयो। ५ करोड ७० लाख रुपैयाँको उसको कारोबार भयो।
२ करोड १५ लाख रुपैयाँको ओम डेभलपमेन्ट बैंक संस्थापकतर्फको कारोबार भयो। सानिमा बैंक, प्राइम लाइफ इन्स्योरेन्स तथा इन्भेष्टमेन्ट बैंकको डेढ करो बढीको कारोबार भयो।
प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले ५ प्रतिशत नाफा कमाएका छन्। अरुण भ्याली हाइड्रोको मूल्य ४.७ प्रतिशतले बढेको छ। उसले यसअघि घोषणा गरेको एफपिओ निश्कासन स्थगन गरी १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने भएपछि मूल्य बढेको हो। समिट माइक्रोफाइनान्स, बोटलर्स नेपाल (तराई) र अरुण काबेलीका लगानीकर्ताले ५ प्रतिशत बढी गुमाए।
सानिमा इक्वीटी फण्डको १३ करोड इकाई नेप्सेमा सूचीकृत भएको छ। साल्ट ट्रेडिङको २५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भई २४६ कायम भएको छ।