साताभर नेप्से परिसूचक ४० अंकले बढेको छ।
आइतबारदेखि बिहीबारसम्म एक्सचेन्जमा १७९ कम्पनीहरुको कारोबार भएको छ। पहिलो दिन आइतबार १३८४ अंकमा रहेको नेप्से अन्तिम दिन १४२४ अंकमा कायम भएको छ।
एक अर्ब ५४ करोड रुपैयाँ बराबरको ३७ लाख ९२ हजार कित्ता सेयरहरु खरिदबिक्री भएको नेप्सेले जनाएको छ। गत साता १७६ कम्पनीहरुको एक अर्ब ५५ करोड रुपैयाँको सेयरहरु खरिद बिक्री भएका थिए।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८ अंकले बढेर ३०१ अंकमा आईपुगेको छ। यस साता वाणिज्य बैंक उपसूचक ३३, विकास बैंक ६४, वित्त १२, लघुवित्त ७६, होटल २४, जलविद्युत ६५, बिमा २६२, उत्पादन ३०, अन्य ९ र व्यापार १० अंकले बढेका छन्।
यस साता कारोबार रकम तथा सेयर संख्याको आधारमा प्रभु बैंक अग्रस्थानमा रह्यो। उसको ६ करोड ७१ लाख रुपैयाँको दुई लाख ९३ हजार कित्ता सेयर किनबेच भयो।
कारोबार संख्या (५९० वटा) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। प्रभुपछि कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स, संस्थापक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, इन्भेष्टमेन्ट तथा कुमारी बैंक उत्कृष्ट पाँचभित्र पर्न सफल भए।
सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, जेविल्स फाइनान्स, ओरियण्टल होटल तथा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका थप सेयर सूचीकृत भएका छन्।