हिमालयन बैंक र एनएनपी कोरिया कम्पनी (क्युएस रेमिट) बीच रेमिट्यान्स सेवा सम्वन्धी सम्झौता भएको छ।
दक्षिण कोरियाको दोङ्देमुनस्थित एनएनपी कोरिया कम्पनीको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी तथा हिमालयन बैंकका प्रमुख कार्यकारीअधिकृत अशोक शमसेर जबराको उपस्थितीमा रेमिट्यान्स कारोबारको शुभारम्भ भएको हो।
रेमिट्यान्स कारोबारको शुभारम्भसँगै यहाँ कार्यरत नेपालीहरुलाई वैधानिक रुपमा नेपालमा रेमिट्यान्स प्रवाह गर्न सहज भएको छ। क्युएस रेमिटमार्फत दक्षिण कोरियाबाट पठाएको रेमिट्यान्स अब नेपालमा हिमालयन बैंकको ४७ वटै शाखा तथा आठ हजार पाँच सयभन्दा बढी हिमाल रेमिट काउन्टरबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।
यस सम्झौताबाट दक्षिण कोरियामा कार्यरत करिब ४० हजार नेपालीहरुले सरल र सुरक्षित रुपमा रेमिट्यान्स सेवाको प्रयोग गर्न पाउने बैंकले जनाएको छ।