व्यक्तिगततर्फ बुटवल पावर कम्पनीको सम्पूर्ण रुपमा एफपिओ बिक्री नभएपछि संस्थागत लगानीकर्तालाई दिइने भएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबारदेखि संस्थागत लगानीकर्ताले समेत यसमा आवेदन दिन सक्नेछन्।
कुल २ अर्ब ४ करोड रुपैयाँ बढीको एफपिओ जारी भएकोमा हालसम्म सवा १ अर्ब रुपैयाँ बराबरको माग भएको क्यापिटलले जनाएको छ। कुल ४० लाख ८१ हजार कित्ता एफपिओ प्रतिकित्ता ५०१ रुपैयाँका दरले खुलाइएको थियो।
गत शुक्रबारसम्म खुलाइएको एफपिओमा व्यक्तिगत तर्फ पर्याप्त आवेदन नपरेपछि लम्बिएको छ। व्यक्तिगत रुपमा सम्पूर्ण रुपमा आवेदन नपरेमा संस्थागत कम्पनीहरुलाई पनि सहभागी गराउन पाउने व्यवस्था अनुरुप आवेदन खुलाइएको क्यापिटलका लेखा प्रमुख कमल नेपालले जानकारी दिए।
संस्थागतलाई खुलेको आवेदनको अवधिमा व्यक्तिगत रुपमा पनि खुल्ला रहनेछ। ‘भोलिदेखि संस्थागत लगानीकर्तालाई पनि आवेदन खुलाइएको हो, यद्यपी व्यक्तिगत रुपमा पनि दिन पाइन्छ’ नेपालले भने।
पछिल्लो दिनमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने धितोपत्र बोर्डको व्यवस्थाले लगानीकर्तामा १० कित्ता मात्रै पर्ने मनोविज्ञान देखिएकाले आवेदन कम परेको क्यापिटलको दावी छ।
यद्यपी लगानीकर्ता भने महँगो मूल्य भएकाले सो कम्पनीको एफपिओमा आकर्षण नदेखिएको दावी गर्छन्। बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४५ रुपैयाँ छ। यस दिन प्रतिकित्ता १३ रुपैयाँले मूल्य घटेको हो।
लगानीकर्ताका अनुसार एफपिओको मूल्य उच्च हुनुका साथै धेरै कित्ता जारी भएकाले पनि कम आवेदन परेको हो। ‘साढे ६ सय रुपैयाँमा बजारमा मूल्य भएको कम्पनीलाई पाँच सयमा हाल्न त्यति इच्छुक होइँदैन, अर्कोतर्फ कम्पनीले जारी गरेको सेयर आपूर्तिले भोलि बजारमा मूल्य झन् घट्ने संभावना देखियो’ एक लगानीकर्ताले भने।
समग्र बजार बढ्न नसकिरहेको र बैंकको उच्च व्याजदरको प्रभावले पनि यसलाई असर परेको विश्लेषण गरिएको छ। बुटवल पावरको हाल प्युठानको दारिमचौरमा १२ मेगावाटको झिमरुक, स्याङ्जाको गल्याङमा ९. ४ मेगावाटको आँधिखोला जलविद्युत आयोजना संचालनमा छन्। कम्पनीले ६० मेगावाटको खिम्ती आयोजनामा पनि लगानी गरेको छ।
निर्माणाधिन ३० मेगावाटको न्यादी तथा ३७ मेगावाटको काबेली ए आयोजनामा पनि कम्पनीले लगानी गरेको छ। एफपिओ बिक्रीबाट प्राप्त हुने ४०. ८१ करोड यिनै दुई आयोजनामा लगानी हुने कम्पनीले जनाएको छ। ति दुई आयोजनामा उपयोगपछि भवन निर्माणका लागि लिइएको ऋण चुक्ता गर्न सकिने बिपिसीले जनाएको छ।
कम्पनीको चुक्ता पुँजी एक अर्ब ८१ करोड छ। यसअघि पहिलो त्रैमासिक अवधिको स्थिति हेर्दा उसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९९ पैसा छ। नेट वर्थ २३० रुपैयाँ छ।