बिहीबार सेयर बजारको परिसूचक नेप्से ९ अंकले बढेको छ।
सो अंक बढेसँगै नेप्से १३९१ मा कायम भएको छ।१५२ कम्पनीको २६ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भयो। बजारको पुँजीकरण १६ खर्ब २६ अर्ब कायम भएको छ।
ब्यापार र फाइनान्स बाहेक सबै उपसूचकहरु बढेका छन्। ति दुवै उपसूचक १ अंकमुनि रातोमा रहे। बैंकिङ ६, होटल १३, विकास बैंक ८, जलविद्युत १७, बीमा ७२, अन्य ७ र माइक्रोफाइनान्स उपसूचक ७ अंकले बढे।
धेरै कारोबार हुने कम्पनीमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रह्यो। उसको २ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
कम्पनीको एफपिओ निश्कासन हुने सूचना आएपछि नै कारोबार उच्च हुँदै आएको छ। उसको कारोबारसँगै सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँले बढेर ३४९ कायम भएको छ।
कारोबारको आधारमा प्राइम लाइफ इन्स्योरेन्स तथा सिभिल बैंक पनि अगाडि रहे। प्राइमले गत आवको नाफाबाट ३२.५ प्रतिशत बोनस सेयर दिने सूचना सार्वजनिक गरेको छ।
बोनसअगावै उसले १ बराबर १ दशमलव ६ को अनुपातमा हकप्रद जारी गर्ने जनाएको छ। हकप्रदपछि कायम हुने पुँजीमा साढे ३२ प्रतिशतले बोनस दिइने प्राइमले जनाएको छ।
धेरै नाफा कमाउनेमा सुर्योदय लघुवित्तका लगानीकर्ता रहे। उनीहरुको सेयर मूल्य ९ प्रतिशतले बढेको छ। त्यस्तै कालिका माइक्रो क्रेडिटको मूल्य ४ प्रतिशतले बढ्यो।
आरएसडिसी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत गुमाए। एनआइबिएल सम्वृद्धि फन्डका शेयरधनीले ४ प्रतिशते गुमाए।