सान्जेन जलविद्युत कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र कर्मचारीका लागि २४ प्रतिशत सेयर निश्कासन गर्ने भएको छ।
कम्पनीले ४९ प्रतिशत साधारण सेयरमध्ये सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई छुट्याइएको २४ प्रतिशत अर्थात ८७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर पहिलो चरणमा निश्कासन गर्न लागेको हो।
दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई छुट्याएको १० प्रतिशत सेयर र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्याएको १५ प्रतिशत सेयर निश्कासन गरिने सान्जेनले जनाएको छ।
कम्पनी र सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेमा बहाल रहेका र विवरणपत्र स्वीकृत भएको गत मंसिर २६ सम्ममा थप भएका संचयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले सेयरमा आवेदन दिन सक्ने छन्।
सञ्चयकर्ताहरुका लागि छुट्याएको ७१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको सेयरका लागि फागुन ११ देखि ३० सम्म आवेदन लिइने छ। कर्मचारी संचय कोषका संचयकर्ताहरु कर्मचारीहरुले न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ३०० कित्तासम्म आवेदन दिन सक्नेछन्।
यस कम्पनीको संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई १२ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर छुट्याइएको छ। संस्थापक संस्थाका कर्मचारीहरुले न्यूनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ३०० कित्तासम्म आवेदन दिन सक्नेछन्।
यसैगरि, कर्मचारी संचय कोषका कर्मचारीहरुले न्यूनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने छन्। उनीहरुका लागि ३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर छुट्याइएको छ। संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीहरुले चैत ५ देखि १३ गतेसम्म आवेदन दिन सक्नेछन्।
आवेदन दिँदा अनिवार्यरुपमा डिम्याट खाता नम्बर उल्लेख गर्नु पर्ने र सी—आश्वा प्रणाली अवलम्वन गर्नुपर्ने व्यवस्था छ।
सान्जेनको अधिकृत पूँजी ३ अर्ब ७५ करोड तथा जारी पूँजी तीन अर्ब ६५ करोड रुपैयाँ छ। कम्पनीमा चिलिमेको ३९.३६ प्रतिशत, विद्युत प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ।
कम्पनीले निर्माण गरिरहेको माथिल्लो सान्जेन (१४.८ मेगावाट) र सान्जेन (४२.५ मेगावाट) जलविद्युत आयोजनाको अनुमानित लागत क्रमशः दुई अर्ब २२ करोड र पाँच अर्ब २ करोड रुपैयाँ छ। यो रकम ५० प्रतिशत स्वपूँजी र ५० प्रतिशत ऋणबाट जुटाईने छ। यी दुवै आयोजनाहरुको औसत प्रति मेगावाट लागत १२ करोड ६४ लाख रुपैयाँ छ। भूकम्प, नाकाबन्दी विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन लगायतका कारणले लागत अनुमानमा केही फरक पर्ने देखिएता पनि ठेक्का सम्झौता हँुदाका बखत अनुमानित लागत भन्दा कममा भएकोले यसले समग्रमा आयोजनाका लागतमा ठूलो असर नपर्ने कम्पनीको दावी छ।
हालसम्म समग्रमा माथिल्लो सान्जेनको ६८ प्रतिशत र सान्जेनको ५८ प्रतिशत काम सकिएको बताइएको छ। माथिल्लो सान्जेनबाट अप्रिल २०१९ बाट विद्युत उत्पादनको लक्ष्य राखिएको छ।
सान्जेनको भने प्राधिकरणले निर्माण गर्नुपर्ने चिलिमे हव–त्रिसूली ३ बी २२० केभी प्रसारण लाइनसँग समन्वय गर्नुपर्ने भएकाले २०१९ को जुन जुलाईसम्म कार्य सक्ने गरी निर्माण कार्य अगाडि बढाईएको छ। सान्जेन माथिल्लोबाट वार्षिक रुपमा ८ करोड २४ लाख र सान्जेनबाट २४ करोड १८ लाख युनिट विद्युत उत्पादन हुने अनुमान छ।