नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको मुख्य प्रवद्र्धनमा स्थापित रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि प्राथमिक सेयर (आइपिओ) निश्कासन गर्ने भएको छ।
कम्पनीले कर्मचारी संचय कोषका संचयकर्ताको लागि १ करोड ३३ लाख४२ हजार ९५ कित्ता सेयर निश्कासन गर्ने भएको छ। फागुन ११ देखि ३० गतेसम्म यसमा कोषका संचयकर्ताले आवेदन दिन सक्ने छन्।
त्यस्तै संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र रसुवा जिल्लाका सम्बन्धित स्थानीय कर्मचारीहरुले चैत ५ गतेदेखि १३ गतेसम्म आवेदन दिन सक्ने छन्। उनीहरुका लागि २३ लाख ९४ हजार ७३५ कित्ता सेयर छुट्याइएको छ।
ऋणदाता संस्था कर्मचारी संचयकोषका कर्मचारीहरुका लागि ६ लाख ८४ हजार २१० कित्ता सेयर छुट्याइएको छ। उनीहरुले पनि चैत ५ देखि १३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनी र कोषबीच ऋण सम्झौता भएको मिति २०६८ मंसिर २२ गतेसम्म बहाल रहेका र नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको गत पुस २० सम्म थपिएका संचयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले हाल निष्काशन गर्न लागिएको सेयरमा आवेदन दिन सक्नेछन्।
रसुवा जिल्लामा निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन गर्न कम्पनीको स्वपुँजी अन्तर्गतसर्वसाधारण समुहका सेयरधनीलाई छुट्याइएको ४९ प्रतिशत मध्ये पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत निश्कासन गर्न लागिएको हो।
त्यसलगत्तै संस्थापक नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र रसुवा जिल्लाका स्थानीयका लागि ३.५ प्रतिशत तथा ऋणदाता कर्मचारी संचयकोषका कर्मचारीहरुका लागि १ प्रतिशत गरी जम्मा २४ प्रतिशत सेयर निष्काशन गर्न लागिएको छ ।
कम्पनीले यसका लागि माघ २८ गते आव्हानपत्र निष्काशन गर्ने भएको छ।
संचय कोषका संचयकर्ताहरु र संस्थापक संस्थाका कर्मचारीहरुले न्युनतम ५० देखि १० ले भाग जाने संख्यामा अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन्।
यसैगरि, कर्मचारी संचय कोषका कर्मचारीहरुले न्युनतम ५० देखि १० अंकले भाग जाने संख्यामा अधिकतम २५ सय कित्तासम्म आवेदन दिन सक्ने छन्।
सिआस्बा मार्फत आवेदन संकलन गर्नुपर्ने अनिवार्य व्यवस्था रहेकाले योग्य आवेदकहरुले मात्र आवेदन दिन सक्नेछन्। यसका लागि सिडिएससीको सिस्टम समेत अपलोडको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यसपछि कम्पनीले आयोजना प्रभावित रसुवाबासीलाई छुट्याएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता र अन्तिम चरणमा सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत अर्थात १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निश्कासन गर्नेछ।
कम्पनीको अधिकृत पूँजी ७ अर्व तथा जारी पूँजी ६ अर्व ८४ करोड छ। कम्पनीका संस्थापक सेयरधनी समूहले कबोल गरेको ५१ प्रतिशत अर्थात १०० रुपैंया अंकित दरका ३ करोड ४८ लाख ९४ हजार ७१० कित्ता सेयरको रकम चुक्ता गरिसकेका छन्।
उक्त संस्थापक सेयरधनी समूह अन्तर्गत चिलिमेको ३२.७९ प्रतिशत, विद्युत प्राधिकरणको १८ प्रतिशत र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहको ०.२१ प्रतिशत सेयर छ ।
कम्पनीले ५० प्रतिशत स्वपूँजी र ५० प्रतिशत ऋण रकमबाट आयोजना निर्माणको लागि आवश्यक वित्तीय व्यवस्था गरेको छ।
रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर १ र २ मा निर्माणाधीन आयोजनाको अनुमानित लागत विद्युत खरिद बिक्री सम्झौता (पीपीए) बमोजिम १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ।
उक्त लागत अनुमान तयार पारेको समयमा भन्दा हाल विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन भएको, महाभूकम्प, बाढीपहिरो, नाकाबन्दी लगायतका कारणहरुले निर्माण प्रभावित हुँदा आयोजना सम्पन्न गर्ने अवधि समेत बढ्न गएकोले आयोजनाको लागत केही बढ्न जाने कम्पनीको अनुमान छ।
आयोजनाले मिति २०७६ साल पुस १५ देखि विद्युत उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ। हालसम्म आयोजनाको निर्माण करिब ६० प्रतिशत सकिएको बताइएको छ। आयोजनाबाट वार्षिक रुपमा ६१ करोड ३० लाख युनिट विद्युत उत्पादन हुने अनुमान छ। नेपाल विद्युत प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८ रुपैयाँ ४० पैसा र ४ रुपैयाँ ८० पैसामा खरिद गर्नेछ। यसबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने अनुमान छ।