नेपाल बैंकले पौने दुई करोड बढी कित्ता एफपिओ जारी गर्ने भएको छ।
यसअघि बसेको संचालक समितिको बैठकले चुक्ता पुँजी वृद्धि गर्नका लागि १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने निर्णय गरेको हो। यद्यपी बैंकको चुक्ता पुँजी राष्ट्र बैंकले तोकेको सीमाभित्रै अर्थात ८ अर्ब नाघिसकेको छ।
प्रिमियम रकम कति थप्ने भन्ने विषयमा भने निक्र्योल भइसकेको छैन। बैंकले कुल १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ चुक्ता पुँजी एफपिओबाट थप्ने योजना बनाएको छ।
संचालक समितिले गरेको एफपिओ प्रस्तावलाई आगामी साधारणसभामा लगिने बैंकले जनाएको छ।
नेपाल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६३ करोड खुद नाफा कमाएको छ। उसको नाफामा गत वर्षको यस अवधिको तुलनामा भने कमी आएको छ। गत आवको यस अवधिमा बैंकले १ अर्ब ८९ करोड खुद नाफा कमाएको थियो।
पुस मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड छ। बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ७४ पैसा छ। यस आवको ६ महिनामा बैंकले २ अर्ब ९४ करोड रुपैयाँ खुद व्याजवापत आम्दानी गरेको छ। बैंकको संचालन नाफा १ अर्ब ७७ करोड छ।
बैंकको व्याजवापतको आम्दानी सामान्य बढेको छ। गत आवको यस अवधिमा यस्तो आम्दानी २ अर्ब ५४ करोड थियो। बैंकलाई आगामी दिनमा यही दरको नाफालाई कायम राख्न यस्तो आम्दानी अझ बढाउनुपर्ने चुनौति देखिन्छ। बैंकको आधार व्याजदर ६ दशमलव ९३ प्रतिशत छ। बैंकले ९१ अर्ब निक्षेप संकलन गरी ७८ अर्ब कर्जा प्रवाह गरेको छ।
बैंकको निश्क्रिय कर्जा अन्य बैंकको तुलनामा अत्याधिक छ। अझ यस्तो कर्जा घट्नुको साटो बढेको छ। जसले गर्दा बैंकलाई नउठेको कर्जा उठाउनै मुश्किल देखिएको छ।
पुस मसान्तसम्म निश्क्रिय कर्जा ३ दशमलव २३ प्रतिशत छ। गत आवको यस अवधिमा निश्क्रिय कर्जा २ दशमलव ८५ प्रतिशत थियो। बैंकको जगेडा कोष भने पछिल्ला दिनमा केही मजबुत बन्दै गएको छ। पुस मसान्तसम्म यो कोषमा ५ अर्ब रकम छ। जवकि गत वर्षको यस अवधिमा २ अर्ब २६ करोड थियो।
बैंकको सिसिडी रेसियो ७५ छ। यो रेसियो ८० प्रतिशतको सीमाभित्र रहनुपर्ने भएकाले थप रकम लगानीका लागि बैंकलाई धेरै समस्या देखिँदैन। बैंकको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ छ।
बैंकको सेयर लगानी भने तुलनात्मक रुपमा अहिलेका लागि प्रतिफलमूलक देखिन्छ। ४० रुपैयाँ ७४ पैसा प्रतिसेयर आम्दानी देखिनु र बजार मूल्य न्यून भएकाले मूल्य आम्दानी अनुपात कम छ। बजार मूल्य साढे ३ सय रुपैयाँको हाराहारीमा छ।
मूल्य आम्दानी अनुपात ८ दशमलव ७ छ। एक वर्षको अवधिमा बैंकको सेयर मूल्य बजारमा न्यूनतम ३२९ रुपैयाँसम्म झरेको छ भने अधिकतम ५५२ रुपैयाँसम्म पुगेको छ।