आर्थिक वर्षको दोस्रो त्रैमास अवधि सकिँदा पनि नौ वटा वाणिज्य बैंकहरुले तोकिएको चुक्ता पुँजी पुर्याउन सकेका छैनन्। सिद्धार्थ, एनएमबि, बैंक अफ काठमाण्डु, प्रभु, मेगा, कुमारी, सेन्चुरी, एनसीसी र सिभिल बैंकको तोकिएको चुक्ता पुँजी पुगेको छैन।
चुक्ता पुँजी नपुगेपछि ति बैंकहरुको साधारणसभा समेत बस्न सकेको छैन। राष्ट्र बैंकको मौद्रिक नीतिअनुसार साधारणसभाले गत आवको नाफाबाट बोनस पारित गरेपछि वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब पुगेको हुनुपर्नेछ।
यही प्रावधानका कारण चुक्ता पुँजी नपुगेका बैंकहरुको सभा बस्न नसकेको हो। आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्ने भए पनि तीन महिनासम्मको अवधि थप्न सकिने प्रावधान छ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले तीन महिनाको अवधिपछि पनि सभा गर्न नसकेमा कारणको प्रकृति हेरिकन जरिवानासहितका सजाय हुने जानकारी दिए। हकप्रदपछिको पुँजीमा बोनस दिएर मात्रै ति कम्पनीको चुक्ता पुँजी ८ अर्ब पुग्नेछ।
एनएमबि बैंकले भने एफपिओ जारी गर्ने योजना बनाएको छ। एफपिओबाट कुल ८८ करोड ८० लाख रुपैयाँ पुँजी थप्ने बाँकी बोनसमार्फत पुर्याउने वा बोनस ९२ करोड रुपैयाँको जारी गरेर बाँकी एफपिओमार्फत जुटाउने बैंकको योजना छ।
सिद्धार्थ बैंकको ७ अर्ब ५ करोड चुक्ता पुँजी रहेकोमा उसले ६८ लाख २६ हजार कित्ता हकप्रद जारी गर्दैछ। सो संख्यामा हकप्रद जारी भएपछि ७ अर्ब ७३ करोड चुक्ता पुँजी पुग्नेछ। बाँकी रकम गत आवको नाफाबाट बोनस जारी गरेर पुर्याइने बैंकले जनाएको छ।
प्रभु र सिभिलले ४० प्रतिशत हकप्रद निश्कासन गरेका छन्। हकप्रदपछि प्रभुको सहजै ८ अर्ब नाघ्नेछ। कम्पनीले गत आवको नाफाबाट बोनस घोषणा गर्न बाँकी नै छ।
त्यस्तै सिभिलको हकप्रदपछि सवा ७ अर्ब पुँजी पुग्नेछ। बाँकी ७५ करोड रुपैयाँको उसले बोनस सेयर जारी गर्नुपर्नेछ। तर सो रकमको बोनस जारी गर्नका लागि बैंकको गत आवको नाफाले मात्रै पुग्दैन। जगेडा कोषको रकमबाट पनि बोनस जारी गर्न सकिने छ। यसअघि जनता बैंकले जगेडा कोषको रकमबाट बोनस जारी गरेर ८ अर्ब पुर्याएको हो। मेगा बैंकले बाँकी पुँजी बोनसबाट पुर्याउने जनाएको छ।
सेन्चुरी कमर्सियल बैंकले ५ प्रतिशत बोनस घोषणा गरेको छ। हाल ७ अर्ब ६७ करोड पुँजी रहेको उसको बोनस समायोजनपछि पुँजी ८ अर्ब नाघ्ने भएको छ।
एनसिसी बैंकले ५० प्रतिशत हकप्रदको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ। हकप्रदपछि २ अर्ब ३३ करोड पुँजी थपिन्छ। बाँकी १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर जारी गरेपछि कम्पनीले ८ अर्ब पुर्याउने योजना बनाएको छ। बैंक अफ काठमाण्डुलाई १ अर्ब ७६ करोड अपुग छ।
कुमारी बैंकले २० प्रतिशत हकप्रद जारी गरी बाँकी रकम बोनसमार्फत पुर्याउने जनाएको छ। यसका लागि उसले धितोपत्र बोर्डमा आवेदन दिएको छ। ति बैंकको चुक्ता पुँजी पुगेपछि प्रतिसेयर आम्दानी भने खस्किने छ।
चुक्ता पुँजी अपुग भएका बैंकहरु
बैंक |
चुक्ता पुँजी |
अपुग पुँजी |
सिद्धार्थ |
७ अर्ब ५ करोड |
९५ करोड |
एनएमबि |
६ अर्ब ४६ करोड |
१ अर्ब ५४ करोड |
बैंक अफ काठमाण्डु |
६ अर्ब २४ करोड |
१ अर्ब ७६ करोड |
प्रभु |
६ अर्ब ५३ करोड |
१ अर्ब ४७ करोड |
मेगा |
७ अर्ब ३७ करोड |
६३ करोड |
कुमारी |
५ अर्ब ९६ करोड |
२ अर्ब ४ करोड |
सेन्चुरी कमर्सियल |
७ अर्ब ६७ करोड |
३३ करोड |
एनसीसी |
४ अर्ब ६७ करोड |
३ अर्ब ३३ करोड |
सिभिल |
५ अर्ब १८ करोड |
२ अर्ब ८२ करोड |
Source: second quarterly report of commercial banks