नेपाल राष्ट्र बैंकले १ सय स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउनका लागि चुनौति रहेको जनाएको छ।
राजधानीको भृकुटीमण्डपमा आयोजित बैंकिङ एक्स्पोलाई सम्वोधन गर्दै गभर्नर डा. चिरञ्जिवी नेपालले ७५३ मध्ये १ सय स्थानीय तहमा विकासका पूर्वाधारको कमी भएकाले बैंकको शाखा पुर्याउन असहज रहेको औंल्याए।
बैंकर्सहरुले डेढ सयभन्दा बढी स्थानीय तहमा शाखा संचालनका लागि चुनौति रहेको बताइरहँदा गभर्नर नेपालले १ सय देखि ११० तहमा अत्यावश्यक पूर्वाधारको कमी रहेको उल्लेख गरे।
ति तह विशेषतः सुरक्षा र संचारका सवालमा चुनौतिपूर्ण देखिएको उनको भनाइ छ। ‘बैंङ्कको शाखाका लागि संचार, सुरक्षा र मानव वस्ती पनि हुनुपर्यो, १ सयदेखि ११० निकायमा यी पूर्वाधारको चुनौति देखिएको छ’ उनले भने। ति तहमा पुग्न बैंकहरुलाई जबरजस्ती नगरिने पनि उनले स्पष्ट पारे।
ग्रामीण क्षेत्रसम्म वित्तीय जागरण पुर्याउन राष्ट्र बैंकले पहल गरेको औंल्याउँदै नेपालले शहरी क्षेत्रमा समेत वित्तीय साक्षरताको कमी रहेको उल्लेख गरे। आफ्ना बच्चाहरुलाई सानैदेखि पैसा र यसको उपयोगबारे अभिभावकले राम्ररी जानकारी दिनुपर्नेमा उनको जोड छ।
औसतमा एक भारतीयले आम्दानीको ३४ प्रतिशत रकम बचत गर्दा नेपालीको जम्मा १० रहेको औंल्याउँदै उनले बचतको बानी बसाल्न सबैमा आग्रह गरे।
गभर्नर नेपालले बैंकहरुलाई निक्षेप संकलन भएअनुसारको कर्जा मात्रै प्रवाह गर्न आग्रह गरे। करिब ४५ प्रतिशत जनसंख्या मात्रै वित्तीय पहुँचमा रहेको उनले जानकारी दिए।
वाणिज्य बैंक नपुगेका तहमा पनि क्रमिक रुपमा शाखा संचालनमा आइरहेको बैंकर्सले बताएका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले ग्रामीण क्षेत्रमा पनि बैंकको पहुँच बढ्दै गएको उल्लेख गरे।
वित्तीय साक्षरता अभिवृद्धिका लागि राष्ट्र बैंकले गरेको पहलमा बैंकहरुले सघाउने उल्लेख गरे। राजधानीसहित विभिन्न क्षेत्रमा वित्तीय साक्षरताका लागि बैंकहरुले एकआपसमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
डेभलपमेन्ट बैंकर्स संघका महासचिव झलक खनालले सबै स्थानीय तहमा विकास बैंकलाई पनि वाणिज्य बैंककै सरह मान्यता दिइनुपर्नेमा जोड दिए।
यसैबीच भोलिसम्म संचालन हुने बैंकिङ एक्स्पोमा विभिन्न वाणिज्य, विकास बैंक, वित्तीय संस्था, बीमा, मर्चेन्ट बैंक तथा रेमिट्यान्स कम्पनीका ५० स्टलहरु राखिएका छन्।
स्टलमार्फत नै सर्वसाधारणले आफ्नो नगद तथा डिम्याट खाता खोल्न सक्नेछन्। कतिपयले निशुल्क डिम्याट खाता खोल्ने व्यवस्था समेत गरेका छन्।
एक्स्पोमा विभिन्न बैंकहरुका स्टल एकै ठाउँमा रहेकाले कर्जा लिनेहरुलाई शुल्क, व्याजदर तथा प्रक्रियाहरु सहज रुपमा बुझ्न र छनौटको निर्णय लिन सहज हुनेछ।
विभिन्न बिमा कम्पनीका योजनाहरु बुझ्न, सेयर बजारसम्वन्धी जानकारी लिन पनि एक्स्पो महत्वपूर्ण रहेको आयोजकको भनाइ छ। आयोजकका अनुसार शनिवार सेयर बजारसँग सम्वन्धित विशेष अन्तरक्र्रिया कार्यक्रम समेत राखिएको छ।