पोखरामा राइड सेयरिङ र सेल्फ ड्राइभ गर्दै आएका राइडरहरू शुक्रबार बिहानैदेखि यात्रुलाई एकछत्र सुविधा दिइरहेका छन्।
राइड सेयरिङलाई गण्डकी प्रदेश सरकारले कानुनी मान्यता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गरेपछि राइडरहरू अरूबेलाभन्दा आज व्यस्त देखिन्छन्।
राइड शेयरिङ एफमा अरू दिनभन्दा आज धेरै यात्रु आइरहेको पोखराका राइडर सुरज क्षेत्रीले बताए। अरू दिनमा जस्तो यात्रु पर्खेर बस्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ। ‘बस बन्द हुँदा राइडिङ एपमा धेरै यात्रुहरू आउनुभएको छ, पर्खेर बस्नुपरेको छैन,’ उनले भने।
राइडरहरूलाई पनि आज भ्याइनभ्याई भएको उनले बताए।
चिप्लेढुङ्गाबाट मोटरसाइकलमा यात्रु काजीपोखरी लगिरहेका सुरजले यातायात व्यवसायीले सार्वजनिक बस बन्द गरे पनि राइडरले सुविधा नरोकेको बताए।
अर्का राइडर पदम नेपालले पनि यात्रुले खोजेका बेला अनलाइनमा राइडर भेटिने बताए।
‘हाम्रा सुविधाअनुसार मात्र राइडिङमा जानु भएन नि!,’ रानीपौवाबाट बगर जाँदै गरेका राइडर नेपालले भने, ‘यात्रुले दु:ख पाएका बेला पनि हामीले साथ दिनुपर्छ।’
राइड सेयरिङ एपमा उल्लेखित शुल्क लिएर निर्धक्क यात्रुलाई सेवा दिन राइडरलाई आह्वान गरेको राइडर्स नेपालका संयोजक अनिल श्रेष्ठले बताए। उनले यात्रुलाई सुविधा दिनु नै राइड सेयरिङको उदेश्य भएकाले सार्वजनिक सवारी बन्द भएका बेला यात्रुलाई अलपत्र हुन नदिन राइडर्सलाई आग्रह गरेको बताए।
गण्डकी प्रदेश बन्द नभएको भन्दै उनले खुला रूपमा राइड सेयरिङमार्फत आवतजावत गर्न यात्रुलाई आह्वान पनि गरेका छन्। राइडर र यात्रुको सुरक्षाका लागि मुख्यमन्त्री कार्यालय, सिडिओ कार्यालय र प्रहरीसँग पनि समन्वय गरिएको उनले बताए।
‘राइडर्सलाई ढुक्क भएर निर्धक्क सेवा दिन भनेका छौं, हामीले सुरक्षाका लागि संवन्धित निकायसँग पनि समन्वय गरेका छौं,’ उनले भने, पोखरा बन्द होइन, खुला छ। पोखरेली सर्वसाधारणलाई सेवामा हाजिर हुन राइडर्स हाजिर छन्।’
छोटो दुरीका यात्रुलाई राइड सेयरिङले सुविधा दिए पनि लामो दुरीका यात्रु भने अलपत्र परेका छन्। पोखरा घुमघाम गर्न आएका पर्यटक हरियो नम्बर प्लेटको पर्यटक गाडीमा यात्रा गरिरहेका छन्। केही भने सार्वजनिक यातायातको पर्खाइमा अलपत्र छन्।
बुटवलबाट ३ दिनअघि पोखरा घुम्न आएका योगेन्द्र पन्थी मुग्लिनसम्म पृथ्वीचोकमा जान सवारी साधन कुरिरहेका छन्। विहान २ घण्टादेखि सवारी कुरे पनि नपाएको उनले बताए।
‘हामी पृथ्वीचोकमा बस कुरेको २ घण्टा भइसक्यो, अझै पाइएको छैन,’ उनले भने, ‘यातायात व्यवसायीको दादागिरीले गर्दा हामी यात्रुले दुख पायौं।’
राइड सेयरिङ एपमार्फत अनलाइन बुकिङ लिएर यात्रु ओसारपसार गरिरहेका राइडरलाई गण्डकी सरकारले कानुनी मान्यता दिएको छ। प्रदेश सरकार मन्त्रिपरिषदले राइड सेयरिङ सम्बन्धमा बनेको नियमावली बैशाख ३० गते पारित गरेपछि राजपत्रमा पनि प्रकाशित भइसकेको छ।
राइड सेयरिङ नियमावली खारेज गर्न माग राखेर यातायात व्यवसायीले शुक्रबारदेखि गण्डकी प्रदेशभर सार्वजनिक सवारी नचलाएका हुन्। उनीहरूले सार्वजनिक बस, ट्याक्सी, ढुवानी सेवा लगायत कालो नम्बर प्लेटका गाडीबाट सेवा दिन बन्द गरेका छन्।
शुक्रबारदेखि आइतबारसम्म गण्डकी प्रदेशका ११ जिल्ला र माग सुनुवाई नभए जेठ १९ गतेदेखि देशभर सार्वजनिक सवारी बन्द गर्ने नेपाल यातायात व्यवसायी महासंघले चेतावनी दिएको छ। निजी प्रयोजनका लागि दर्ता भएका सवारीलाई यात्रु ओसारपसार गर्न दिएको विरोधमा आन्दोलनमा उत्रनु परेको नेपाल यातायात व्यवसायी महासंघ गण्डकीका योगेन्द्र केसीले बताए।
‘निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनले पनि यात्रु ओसारपसार गर्न कुराकोविरूद्ध हामीले आन्दोलन गरेका हौं,’ उनले भने, ‘राइड सेयरिङ नियमावली खारेज नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’
राइड सेयरिङसम्बन्धी नियमावलीले दुई पाङ्ग्रे मोटरसाइकल र स्कुटर, चार पाङ्ग्रे कार लगायत सवारी साधनलाई दर्ता गरेर चलाउन पाउने कानुनी व्यवस्था गरेको छ। यसले राइड सेयरिङ र सेल्फ ड्राइभले कानुनी मान्यता पाएको छ।
यसअघि राइड सेयरिङ अवैध भन्दै बन्द गर्न यातायात व्यवसायीले माग गरेका थिए भने राइडरहरूले कानुनी मान्यता दिन माग गरेर आन्दोलन गरेका थिए। राइड सेयरिङले कानुनी मान्यता नपाउँदा प्रहरीले पनि दुख दिने गरेको उनीहरूले बताएका थिए।
यातायात व्यवस्था ऐन २०४९ अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारी साधनले यात्रु ओसारपसार गर्न पाउँदैन। यही कानुन लागु हुनुपर्ने भन्दै राइड सेयरिङ नियमावली खारेज गर्न माग राखेको केसीले बताए।
पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्षसमेत रहेका केसीले राइड सेयरिङलाई वैधता दिनु कानुनी शासन नहुनेतर्क गरे।
‘कानुनले रातो नम्बर प्लेटका सवारीलाई यात्रु बोक्न दिँदैन, यहाँ नियमावली ल्याएर राइड सेयरिङलाई मान्यता दिन थालियो,’ उनले भने, ‘यो त कानुनको शासन भएन, हुलमुलको शासन भयो।’
गण्डकी प्रदेशमा रहेका ११ वटा जिल्लामा करिब १५ हजार सार्वजनिक सवारी संचालनमा छन्। शुक्रबारदेखि १८ गतेसम्म प्रदेशभर सार्वजनिक यातायात बन्द गर्ने र माग सुनुवाइ नभए जेठ १९ गतेदेखि देशभर सार्वजनिक सवारी बन्द गर्ने यातायात केसीले चेतावनी दिएका छन्।
गण्डकी सरकारले भने वार्ता समिति गठन गरेर यातायात व्यवसायीलाई वार्तामा आउन आह्वान गरेको थियो। व्यवसायीले भने माग पूरा नहुने वार्तामा नजाने भन्दै बहिष्कार गरेका छन्। प्रदेश सरकारले भने सार्वजनिक यातायात व्यवसायीको माग अनुसार नियमावली खारेज गर्ने पक्षमा नभएको जनाएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार यातायात व्यवसायीको ‘सिण्डिकेट’ सामु सरकार नझुक्ने बताइरहेको छ। आन्दोलनमा उत्रिएका यातायात व्यवसायीसँग अरू समस्या समाधान गर्न वार्ता गर्न तयार भए पनि राइड सेयरिङ नियमावली खारेज गर्ने पक्षमा नरहेको जनाएको छ।
तस्बिरहरू:
-ink-1748583980.jpeg)
-ink-1748583980.jpeg)
-ink-1748583979.jpeg)
-ink-1748583979.jpeg)
-ink-1748583978.jpeg)
-ink-1748583978.jpeg)
-ink-1748583978.jpeg)
-ink-1748583978.jpeg)