नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आगामी साउनमा मोबिलिटी एक्सपो गर्ने भएको छ।
यसअघि नाडाले यस्तो एक्सपोहरू गर्दै आएकोमा अब नाइमाले पनि अटोमोबाइल एक्सपो गर्न थालेको हो।
बुधबार नाइमाको टिम घोषणासँगै आगामी साउन २१ गतेदेखि २५ गतेसम्म मोबिलिटी एक्सपो गर्ने जानकारी गराइएको हो।
नाइमा अन्तर्गत गठित अटो शो समितिका सदस्य गौरव शारदाले 'नेपाल मोबिलिटी एक्सपो' को लोगो सार्वजनिक गर्दै काठमाडौंको भृकुटीमण्डपमा एक्सपो आयोजना गरिएको जानकारी गराए।
शारदाले प्रदर्शनी व्यवस्थापनको जिम्मेवारी मिडिया स्पेस सोलुसन्सले लिएको बताए।
उनले प्रदर्शनीमा सहभागी हुने विभिन्न कम्पनीहरू, प्राविधिक क्षेत्रको प्रदर्शन, विशेष खण्ड र दर्ता प्रक्रिया लगायतका विषयमा जानकारी गराएका थिए।
बुधबार नै अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूले नयाँ संस्थाको घोषणा गरिएको थियो।
'नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन' नाइमाको घोषणा गरिएको हो।
'मोबिलिटीमार्फत समृद्धिको मार्ग' भन्ने नारासहित नाइमाको संस्थापक तथा पहिलो अध्यक्षको जिम्मेवारी युनाइटेड ट्रेडर्सकी प्रबन्ध निर्देशक रितुसिंह वैद्यलाई दिइएको छ।
देशको मोबिलिटी क्षत्रको साझा मञ्चको रूपमा काम गर्न नाइमा गठन गरिएको वैद्यले बताएकी छन्।
'नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) देशको मोबिलिटी क्षेत्रमा साझा मञ्चको रूपमा कार्य गर्नेछ। यसले रणनीतिक सहकार्य, विकास र नीति निर्माणमा सबै सरोकारवालाको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रतिनिधित्व गर्नेछ,' नाइमा घोषणा सभामा उनले भनिन्।
नेपालको गाडी क्षेत्रको नीतिगत सुधार, नवप्रवर्तनलाई प्रोत्साहन, उपभोक्ता सशक्तीकरण, सडक सुरक्षामा ध्यान, पूर्वाधार विकास, दक्ष जनशक्ति निर्माण र साझा सहकार्यलाई प्राथमिकतामा राखेर नाइमा अघि बढ्ने प्रतिबद्धता उनले गरिन्।
नाइमाले मोबिलिटी क्षत्रको साझा आवाज बन्ने उनको दाबी छ।
नाइमाको संस्थापक सदस्यहरूमा कन्टिनेन्टल ट्रेडिङका सुहृदराज घिमिरे, एचएच एण्ड को प्राइभेट लिमिटेडका शेखर गोल्छा, अग्नि इंक प्राइभेट लिमिटेडका क्याबिनेट श्रेष्ठ, साकार ट्रेडिङमा सौरभ ज्योति रहेका छन्।
एसपिजी अटोमोबाइलका सन्दीपकुमार शारडा, लक्ष्मी मोटरका निराकार श्रेष्ठ, साइमेक्स इंककी यमुना श्रेष्ठ, पारामाउन्ट मोटर्सका निकुञ्ज अग्रवाल, सांग्रिला मोटर्सका हेमन्त गोल्छा र ओम्नी मोटर्सका उदयन काबरा पनि संस्थापक सदस्य रहेका छन्।