ट्याक्सीमा यात्रु ठगिने गुनासो बढेपछि यातायात व्यवस्था विभागले २४ घण्टे फोन तथा एसएमएस सेवा सुरू गरेको छ।
काठमाडौंमा दैनिक जसो यस्ता गुनासो आउन थालेपछि यात्रुको समस्यालाई सम्बोधन गर्न यो सेवा सुरू गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए।
गन्तव्य स्थानसम्म जान नमाने वा आलटाल गरेमा, मिटरमा जान नमानेमा, ट्याक्सी स्ट्याण्डमा सवारी पार्किङ गरी लामो समयसम्म चालक सिटमा बसेको नपाइएमा र मिटर ‘सर्ट गरेमा वा गन्तब्यसम्म लाग्ने रकम अस्वभाविक रूपमा बढी देखिएमा ९८५१२७३२२२ मा फोन वा एसएमएस गर्न विभागले अनुरोध गरेको छ।
ट्याक्सी चालकले यस्ता काम गरेको पाइएमा १ हजारदेखि ५ हजारसम्म जरिवाना हुने अर्यालले जानकारी दिए।
यात्रुको गुनासो आउने वित्तिकै विभागले टोली पठाइ कारवाही गर्ने अर्यालको भनाइ छ।
त्यस्तै केही समय अगाडि यातायात व्यवस्था विभागले लाइसेन्सको लिखित परीक्षा परिणाम ताथा लाइसेन्सको प्रिन्टको जानकारीको लागि एसएमएस सेवा पनि सुरू गरेको थियो।
लाइसेन्स प्रिन्ट भए नभएको थाहा पाउन LC (space) Applicant ID टाइप गरी ३१००३ मा एसएमएस पठाएर जानकारी पाउन सकिन्छ भने लिखित परीक्षाको नतिजा हेर्न WT (space) Applicant ID टाइप गरी ३१००३ मा पठाएर जानकारी पाउन सकिन्छ।