नेपाली कांग्रेसले जारी केन्द्रीय समिति बैठकमा छलफलका लागि १० वटा एजेन्डा तय गरे पनि नेताहरूले मुख्य रूपमा महाधिवेशनबारे केन्द्रित रहेर धारणा राखिरहेका छन्।
नियमित १५ औं महाधिवेशन वा हस्ताक्षरसहित माग भएअनुसार विशेष महाधिवेशन केमा जाने भन्ने विषयमा नेताहरूले धारणा राख्ने गरेका छन्।
नियमित महाधिवेशनमा जानुपर्छ भन्नेमा अधिकांश छन् तर कहिलेसम्म महाधिवेशन गर्ने भन्नेमा मतभेद देखिन्छ।
यो कार्यसमितिको म्याद मंसिर २४ गतेसम्म रहेकोले त्यसअघि नै १५ औं महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने पक्षमा संस्थापनइतर पक्षका नेताहरू छन् भने सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरू चुनावअघि महाधिवेशनको सम्भावना देख्दैनन्। विशेष महाधिवेशनको कुरा त संस्थापन पक्षले सुन्नै चाहेको छैन।
कांग्रेसले २०७८ मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गरेको थियो। त्यसबेला ७३ जना केन्द्रीय सदस्यसहित देशभरका ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए। तीमध्ये ४६ जनाको मृत्यु भयो भने ६८ जना कांग्रेस छाडेर अहिले ४५५६ जना महाधिवेशन प्रतिनिधि छन्।
त्यसको ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन्।
२४८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर २९ असोजमा नेता गुरूराज घिमिरेसहितले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय कार्यालय सानेपामा हस्तान्तरण गर्दै विशेष महाधिवेशन माग गरेका थिए।
कांग्रेसको विधानको धारा १७ ले ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको ३ महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ’ भन्ने उल्लेख गरेको छ।
विधानको यही व्यवस्थाअनुसार देशभरबाट महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गर्न कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका हुन्। कार्यवाहक सभापति खड्कामाथि अबको ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक अवस्था छ। त्यो भनेको माघ २९ गतेभित्र विशेष महाधिवेशन बोलाइसक्नुपर्छ।
५४ प्रतिशतभन्दा बढी हस्ताक्षर भइसकेपछि कतिपय नेताहरूले १४ औं महाधिवेशन प्रतिनिधिको कार्यकाल सकिइसकेको दाबीसमेत गर्न थालेका छन्। ती नेताहरूले विधानको धारा ४३ मा रहेको पदावधिको व्यवस्था सम्झाउने गरेका छन्।
जहाँ, ‘पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुनेछ, असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ’ भन्ने उल्लेख गरेको छ।
कांग्रेसले अहिलेसम्म ४ वर्षमा महाधिवेशन गरेको छैन। प्राय: विधानकै व्यवस्थाअनुसार एक वर्ष कार्यकाल थपेर ५ वर्षमा महाधिवेशन गर्ने गरेको थियो। केन्द्रीय समितिले विशेष परिस्थितिमा म्याद थप गर्दा पार्टीका सबै संरचनाको म्याद थप हुने गर्छ, यसअघि १४ महाधिवेशनअघि पनि सभापति देउवाले एक वर्ष म्याद थप्दा सबै संरचनाको म्याद थपिएको थियो।
अहिले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने माग उठिरहेको छ। तर कतिपयले महाधिवेशन गर्न क्रियाशील सदस्य नवीकरण र नयाँ वितरण टुंग्याउन तयारी नपुग्ने बताएका छन्।
महामन्त्री गगन थापाको नेतृत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति छ। उक्त समितिले ३१ पटक परिपत्र गरेर क्रियाशील नवीकरण टुंग्याउन जिल्लालाई भनेको छ र असोज मसान्तसम्मको मात्रै म्याद दिएको छ।
अहिलेसम्म २५ जिल्लाले क्रियाशील नवीकरण गरिसकेका छन् अरू जिल्लामा करिब ६० प्रतिशत हाराहारीमा क्रियाशील नवीकरण पुगेको अवस्था छ। १४ औं महाधिवेशनमा ८० प्रतिशत हाराहारीले क्रियाशील नवीकरण गराएका थिए।
संस्थापन पक्षका नेताहरूले महामन्त्री थापालाई लक्ष्य गर्दै क्रियाशील सदस्यता नवीकरणको काम समयबद्ध रूपमा गराउन नसकेकोमा आलोचना गरेका छन् तर महामन्त्री थापाले नेताहरूका सम्बन्धित जिल्लामा उनीहरूबाट असहयोग भइरहेको गुनासो गर्ने गरेका छन्। प्रत्येक महाधिवेशनमा क्रियाशील सदस्यताबारे कांग्रेसमा विवाद झिक्ने र महाधिवेशन कार्यतालिका प्रभावित पार्ने रोग छ। यसपालि पनि पदाधिकारी तथा पूर्वपदाधिकारीहरूकै गृह जिल्ला र क्षेत्रमा क्रियाशीलको नवीकरणको गति धिमा छ।
२९ असोजमा महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएकोले त्यसको ३ महिना माघ २९ भित्र विशेष महाधिवेशन बोलाइसक्नुपर्छ। नभए त्यसअघि नै नियमित १५ औं महाधिवेशन गर्न अहिले जारी केन्द्रीय समितिले कार्यतालिका ल्याउनुपर्छ।
मंसिर २४ गतेभित्र नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका नल्याए यो कार्यसमितिको म्याद सकिन्छ र म्याद थप गर्नुपर्छ नत्र पार्टीका सबै तहका संरचना एकैपटक शून्यतामा पुग्छन्। पार्टीलाई शून्यतामा पुर्याउन कांग्रेस नेतृत्व पक्कै पनि चाहँदैन।
त्यसो हो भने यो कार्यसमितिको म्याद थप गर्नुपर्छ। महामन्त्री गगन थापाले यो कार्यसमितिको म्याद थप नगर्ने अडान लिँदै मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन प्रक्रिया अघि बढ्ने बताएका छन्। अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि मंसिरभित्र नियमित महाधिवेशन गर्न नसके माग भएर आएअनुसार विशेष महाधिवेशनमा जानुपर्नेमा छन्।
अहिले जारी केन्द्रीय समिति बैठक सम्भवत: छठपछिसम्म चल्नेछ। यो केन्द्रीय समितिले महाधिवेशन समयमै नगर्ने र फागुन २१ को चुनावपछि गर्ने निर्णय गर्यो भने विशेष महाधिवेशन प्रक्रिया महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकै अगुवाइमा अघि बढ्ने देखिन्छ।
किनभने बहुमतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेका छन्।
केन्द्रीय समितिले १५ औं महाधिवेशन मंसिरभित्रै गर्ने गरी कार्यतालिका नल्याए विशेष महाधिवेशन बोलाइहाल्नुपर्ने माग र दबाब बढ्छ। विधानमा हस्ताक्षर बुझाएको ३ महिनाभित्र बोलाउन सकिने भने पनि महाधिवेशन प्रतिनिधिले दबाब दिएमा तत्कालै बोलाउनुपर्ने परिस्थिति सिर्जना हुन सक्छ।
किनकि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको भावनाअनुसार कांग्रेसभित्र नीति र नेतृत्व दुवै परिवर्तनको आवाज बलियोसँग उठेको बेला छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सबैभन्दा ठूलो चुनौती जुन महाधिवेशन प्रतिनिधिले यो कार्यसमिति तथा उनीसहित सभापति निर्वाचित गरेका हुन् त्यसैको ५४ प्रतिशत बढीले विशेष महाधिवेशन मागेका छन्। यसको राजनीतिक वैधता ठूलो छ।
बहुमतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित मागेको विशेष महाधिवेशन लत्याउने वा त्यसलाई सुनुवाइ नगर्ने राजनीतिक र नैतिक छुट कार्यवाहक सभापति खड्कालाई हुँदैन। यदि उनले केही बाहनामा बहुमत महाधिवेशन प्रतिनिधिका माग लत्याउनतिर लागे भने ती महाधिवेशन प्रतिनिधि काठमाडौंमा भेला भएर एक साताभित्रै विशेष महाधिवेशन बोलाउन दबाब दिन सक्छन्। त्यो विद्रोह हुन सक्छ।
त्यसो भएकोले कार्यवाहक सभापति खड्काले कि नियमित महाधिवेशन कि विशेष महाधिवेशन बोलाउनुपर्ने अवस्था छ र यसको निर्क्योल ढिला नगरी गर्नुपर्नेछ। कि मंसिर २४ अघि नै नियमित महाधिवेशन बोलाउनुपर्यो कि विशेष महाधिवेशनमा जानुपर्यो, अरू विकल्प देखिँदैन।
सभापति शेरबहादुर देउवा पक्षका कतिपय नेताहरूले नियमित महाधिवेशन चुनावपछि वैशाखतिर गर्नुपर्छ भनिरहेका छन्।
यस्तो अवस्थामा कार्यवाहक सभापति खड्काले केन्द्रीय समिति बैठकअघि नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग कुरा गरेका छन्। वैधानिक हिसाबले ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको हुनाले त्यसले सिर्जना गरेको बाध्यता आफूलाई थाहा भएको र त्यसलाई नलत्याउने कुरा कार्यवाहक सभापति खड्काले महामन्त्रीद्वयलाई बताएका छन्।
तर विशेष महाधिवेशनतिर भन्दा पनि नियमित महाधिवेशनमा जाने कुरा कार्यवाहक सभापति खड्का र नेता शेखर कोइरालाको धारणा छ। कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशनको कार्यतालिका महामन्त्रीले ल्याए आफूले त्यसमा पूर्ण रूपमा समर्थन जनाउने कुरा केन्द्रीय समितिमै बोलिसकेका छन्।
विशेष महाधिवेशन पहल गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने नभए विशेष महाधिवेशनमा दबाब अघि बढाउने अडान राखेका छन्।
महामन्त्री थापाले केन्द्रीय कार्यसम्पादन समिति बैठकमा मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्न प्रस्ताव गरेका छन्। केही कठिनाइ आएका खण्डमा पुस पहिलो हप्तासम्म महाधिवेशन गर्न सकिने उनले उल्लेख गरेका छन्।
कांग्रेसको नियमित वा विशेष महाधिवेशन कहिले र कसरी गर्ने टुंगो लगाउने कार्यवाहक सभापति बन्नेबित्तिकै खड्कामाथि पहिलो परीक्षा सुरू भएको छ। नियमित महाधिवेशन नभए विधानअनुसार स्वत: विशेष महाधिवेशन 'एक्टिभेट' हुन्छ।