नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रक्रियासंगत ढंगले पार्टीमा निवेदन दिए सदस्यता दिइने संकेत गरेका छन्। केन्द्रीय कमिटी बैठकमा झन्डै ५० जना केन्द्रीय सदस्य विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको पक्षमा उभिएका थिए। गत साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गर्दै पार्टी फर्कन रोक लगाएको थियो।
त्यसविरूद्ध उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले नोट अफ डिसेन्ट राखेका थिए। बुधबारदेखि ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका पदाधिकारी नै भण्डारीको सदस्यता नवीकरणका पक्षमा उभिएका थिए।
त्यसको जबाफ दिँदै अध्यक्ष ओलीले भण्डारीले आफू केन्द्रीय कमिटी बैठकमै रहँदा फोन गरेको र व्यस्तताका कारण कुराकानी हुन नपाएको प्रसंग जोडेका थिए।
‘उहाँले फोन गर्नुभएको रहेछ। व्यस्तताका कारण उठाउन पाइनँ। कल ब्याक गर्छु,’ उनले भने।
पोलिटब्युरो सदस्य कृष्ण राईले प्रक्रियासंगत ढंगले पार्टीमा निवेदन दिए सदस्यता पाउने बताएको जानकारी दिए।
‘पहिले पनि अध्यक्ष केपी शर्मा ओलीले निवेदन दिए विद्या भण्डारीले सदस्यता पाउने भन्नुभएको थियो। अहिले पनि त्यस्तै संकेत गर्नुभएको छ,’ उनले भने।
विद्या भण्डारीको सदस्यता नवीकरण गरौं भन्नेलाई ओलीको जबाफ–माइती बनेर नआउनू
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको माग गर्नेलाई माइती नबन्न भनेका छन्।
केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जबाफ दिने क्रममा अध्यक्ष ओलीले विद्या भण्डारीलाई आफूले राम्ररी चिन्ने बताएका थिए।
‘कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनु पर्दैन। म विद्या भण्डारीलाई राम्रै जान्दछु। उहाँ असजिलो अवस्थामा हुनुहुँदा उहाँको उपचार गर्न निर्णय गर्न लगाएको थिएँ,’ उनले भने।
त्यतिबेला आफूले पाँच लाख रूपैयाँ सहयोग उठाइदिन्छु भनेर आग्रह समेत गरेको बताए।
‘म उहाँको अप्ठ्यारो बेलाको साथी हुँ। कसैले यहाँ ठूलो कुरा नगरौं। म सजिलो हेलाँको होइन, असजिलो हेलाँको साथी हुँ,’ उनले भने।
पूर्वराष्ट्रपति भण्डारीले नै आफै आएर आफूलाई सघाउनुपर्ने ओलीको जबाफ थियो।
जारी केन्द्रीय कमिटी बैठकमा भण्डारीको सदस्यता नवीकरण गर्न करिब ५० जना सदस्यहरूले माग गरेका थिए।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित पदाधिकारीहरू पनि उनको सदस्यता नवीकरणको पक्षमा उभिएका थिए।