काठमाडौं किर्तिपुरकी अनिता महर्जन बागबजारको एउटा कन्सलट्यान्सीमा काम गर्छिन्।
स्कुटर चलाउन त आउछ तर उनीसँग सवारी लाइसेन्स छैन। उनी कार्यालय आवत जावत गर्ने सार्वजनिक सवारी साधनबाट नै हो। तर काठमाडौंमा संचालित सार्वजनिक अवस्थाहरुको अवस्था देखेर उनी हैरान भएकी छिन् ।
घरबाट लगाएको लुगा कार्यालय पुग्दा धुलो नै धुलोले मैलो देखिन्छ। प्रायजसो किर्तिपुरबाट बस चढेर रत्नपार्कमा ओर्लने उनी कहिले काही ट्याक्सी पनि चढ्छिन्।
ट्याक्सीको अवस्था पनि उस्तै रहेको उनले सेतोपाटीसँग बताइन्।
अहिले राजधानीमा संचालनमा रहेका सबै बस, माइक्रो, ट्याक्सी टेम्पो सबै सवारीका साधन बाहिर र भित्रै निकै फोहर छ।
उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन भित्र फोहर भए ट्राफिक प्रहरीले अब कारबाही गर्ने भएको छ। यातायत व्यवसायीले पनि यस विषयमा सहमति जनाइसकेका छन्।
'हाम्रो उपत्यकामा चल्ने सवारी साधन निकै फोहर भयो, भित्र धेरै नै फोहर पाइयो, बाहिर त फोहर हुन्छ नै भित्र यात्रु फोहरमा यात्रा गर्न बाध्य भए, 'महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले काठमाडाैंमा सोमबार अायोजित कार्यक्रममा भने, 'त्यही भएर सफा नगर्ने सवारी साधनलाई हामी कारबाही गर्छौ ।'
चिटिक्क कपडा लगाएर सार्वजनिक सवारी साधन चढेर कार्यालय जाने अवस्था नै नभएपछि यस्तो गर्नुपरेको खनालले बताए।
खनालले गाडी भित्र चिटिक्क सफा गर्ने, सिटहरु सफा राख्ने, मैलो र गन्हाउने सिट कभरहरु फालेर नयाँ लगाउन सबै यातायत व्यवसायीहरुसँग आग्रह गरे ।
ट्राफिक प्रहरीले केही समयअघि उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन भित्र कत्तिको सफा छ भनेर अनुगमन गरेको थियो।
त्यस बेला उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनभित्र फोहर मात्र होइन जुम्रा, उडुस र उपायँहरुसमेत भेटिएको थियो ।
सवारी साधन सफा गरेपनि धुलै धुलोले एकै छिनमा फेरि उस्तै बनाउने र समय समयमा मात्र सफा गर्ने गरेको चालकहरुले बताएका छन्।
यातायत व्यवसायीहरुले पनि सडकको अवस्था राम्रो भए सवारी साधनको अवस्था पनि राम्रो हुने बताए।
नेपाल राष्ट्रिय यातायत व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारले पुर्वाधारको विकास गरे आफूहरु सोही अनुसार चल्ने बताए।
यातायात व्यस्वथा विभाग अन्तर्गत बागमती अंचलमा अहिलेसम्म दर्ता भएको विवरण अनुसार बस ११ हजार ७ सय ८४, मिनी बस ११ हजार २ सय, माइक्रो २३ सय ४५ र टेम्पो २५ सय २८ वटा चल्छन् ।