सरकारले सोमबारदेखि सवारी साधनमा नयाँ प्रविधिको इम्बोष्ड प्लेट वितरण प्रक्रिया सुरू गर्ने भएको छ।
यातायात व्यवस्था विभागले सोमबारदेखि ३ पाङग्रे , ४ पाङग्रे साना र ४ पाङग्रे ठूला सवारी साधनमा इम्बोष्ड प्लेट वितरणका लागि अनलाईन सेवामार्फत आवेदन खुला गर्ने भएको हो।
प्रदेश संरचना अनुसार नै इम्बोष्ड नम्बर वितरणको काम सुरू गर्न लागिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए। इम्बोष्ड नम्बर प्लेट वितरण भने पहिलो चरणमा प्रदेश नम्बर ३ बाट सुरू हुनेछ। इम्बोष्ड नम्बरका लागि आवेदन भने ललितपुरको एकान्तकुनास्थित साना तथा ठूला सवारी व्यवस्थापन कार्यालयमा बुझाउनुपर्नेछ ।
इम्बोष्ड प्लेट लिन ३ पाङग्रेका लागि २ हजार ९ सय रुपैयाँ, ४ पाङग्रे सानाका लागि ३ हजार २ सय रुपैयाँ र ४ पाङग्रे ठूला सवारीका लागि ३ सय ६ सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । प्रवक्ता पाण्डेले इम्बोष्ड प्लेटमा अञ्चलको सट्टा प्रदेश नम्बर उल्लेख गर्न लागिएको पनि स्पष्ट पारे।
सरकारले गत कात्तिक १३ गते इम्बोष्ड प्लेटका लागि आवेदन खुला गर्ने निर्णय राजपत्रमार्फत् सार्वजनिक गरेको थियो। सोही सूचनाको आधारमा इम्बोष्ड प्लेटका लागि आवेदन खुला गरिएको पनि प्रवक्ता पाण्डेले स्पष्ट पारे।
सरकारले अरु प्रदेशहरूमा पनि इम्बोष्ड नम्बर वितरणको काममा ढिलाई नगर्ने बताएको छ। क्यालेन्डर बनाएरै इम्बोष्ड नम्बर वितरणको कामलाई अरु प्रदेशहरूमा पनि एकैसाथ सुरू गर्न लागिएको पनि विभागले जनाएको छ।
विभागका प्रवक्ता पाण्डेले प्रदेशको नामाकरण भएपछि पनि काम लाग्ने गरी इम्बोष्ड प्लेटको व्यवस्था गरिएको बताए।
सरकारले सवारी साधन तथा यातायात नियमावली संशोधन गरी सवारी साधनमा अत्याधुनिक इम्बोष्ड नम्बर राख्ने निर्णय गरेको थियो ।