जेठ महिनादेखि आकाशे पानी परेपछि समयमै धानको व्याड जमाएका किसानलाई रोप्ने बेला भने रासायनिक मलको अभाव भएको छ।
समयमै पानी परे पनि मल अभाव हुँदा खेतीपातीमा लागेका किसानहरु चिन्तित बनेका छन्।
रुपन्देहीको तिलोत्तमास्थित मधवलियाकी सावित्री पौडेल मल अभावकै बीच रोपाइँमा व्यस्त छिन्। समयमै पानी परेपछि जेठको पहिलो साता नै व्याड राखेका उनीजस्तै अरु किसान अहिले रोपाइँमा व्यस्त छन्।
ओमसतियाका रामु यादवले रासायनिक मल नपाइए पनि पानी परेपछि समयमै धान रोप्न लागिएको बताए। ‘अहिले पानी परेको बेला रोपिएन भने पछि पानी परेन भने त्यतिकै रहन्छ, मल पाइयो भने पछि राखौंला भनेर रोप्न लागेको’ उनले भने।
रोपाइँ हुँदै गर्दा गाउँघरका खेतबारी हरियै देखिन थालेका छन्।
कपिलवस्तु जिल्लामा पनि रासायनिक मलको अभाव भएको छ। कपिलवस्तु कृषि ज्ञान केन्द्रले मल अभाव भएपछि बिक्रीवितरण गर्न नसकिएको जनाएको छ।
कपिलवस्तुमा अहिले ४६ टन डिएपी मल र १० टन युरिया मल मात्र रहेको ज्ञानकेन्द्रले जनाएको छ। कपिलवस्तुमा ७२ हजार हेक्टर क्षेत्रफलमा हुने धान खेतीका लागि पाँच हजार टन मल आवश्यक हुन्छ।
आवश्यकता भन्दा अत्यन्त न्यून परिमाणमा मल रहेकोले किसानहरु कृषि कार्यालय तथा स्थानीय तहहरुमा दैनिक रुपमा धाउने गरेका छन्। वाणगंगा नगरपालिका ढोंडेकोलका हिरालाल पौडेलले वडा कार्यालयदेखि नगरपालिका र सांसदहरुलाई समेत मल उपलब्ध गराउन आग्रह गर्दै आएको बताए।
मललगायत कृषि कर्मका लागि आवश्यक सामग्री भारतबाटै ल्याउनुपर्ने तर लकडाउनका कारण ल्याउन नसकिएको कृषि कार्यालयको भनाइ छ।
विगतका वर्षमा धानको व्याड राख्दा नै रासायनिक मल राख्ने किसानले यसवर्ष मल राख्न पाएनन्। विउलाई राम्रोसँग हुर्काउन डिएपी र युरिया मल आवश्यक पर्छ।
किसानले हरेक वर्ष मलसँगै सिचाइँको समस्या भोग्दै आएका छन्। यसवर्ष समयमै पानी परेपछि बिउ राखे पनि मल अभाव हुने समस्या भने हट्न सकेन।
अघिल्ला वर्षमा स्थानीय तहले अनुदानको मल वितरण गरे पनि यो वर्ष सबैजसो स्थानीय तहले मल वितरण गर्न सकेका छैनन्। आयात नै नभएपछि अनुदानमा मल वितरण गर्न नसकेको स्थानीय तह बताउँछन्।
कृषि सामग्री केन्द्र भैरहवाको गोदाममा १ हजार ९ सय ८३ मेट्रिक टन डिएपी मल छ। केन्द्रका प्रमुख अजयकुमार श्रीवास्तवले कोरोना भाइरसका कारण नेपालमा मल ल्याउन नसकिएको बताए।
केन्द्रले प्रदेश ५ का साथै, सुदूरपश्चिम र कर्णाली प्रदेशमा समेत मल ढुवानी गर्दै आएको छ। केन्द्रले खरिद गरेको साढे १२ हजार मेट्रिक टन र साल्ट ट्रेडिङको पनि उत्तिकै मात्रामा डिएपी भारतको कोलकात्तामै रहेको केन्द्रका प्रमुख श्रीवास्तवले बताए।
श्रीवास्तवका अनुसार २५ हजार मेट्रिकटन डिएपी मल भारतमै रोकिएको छ। साल्ट टे«डिङ भैरहवाका प्रमुख हरिशचन्द्र श्रेष्ठका अनुसार लकडाउन खुकुलो भइसकेको र रोपाइँ शुरु हुन लागेकोले असार पहिलो सातासम्म मल नेपाल आइपुग्ने छ।
साल्ट ट्रेडिङ कर्पोरेशनको भैरहवास्थित गोदाममा जम्मा ११ हजार क्वीन्टल डिएपी र १५ हजार क्वीन्टल युरिया रहेको छ। साल्ट ट्रेडिङको २१ हजार मेट्रिकटन युरिया गुजरातको काण्डेला बन्दरगाहमा रोकिएको छ।
नेपालमा हरेक वर्ष ७ लाख मेट्रिकटन मलको माग हुने गरेको छ। त्यसमध्ये ७० प्रतिशत कृषि सामग्री केन्द्र र ३० प्रतिशत साल्ट ट्रेडिङले बिक्री गर्छन्।