धादिङ नौबिसेकी देबका भट्टराई काठमाडौं बानेश्वरमा बस्छिन्।
आइतबार धादिङबाट बुवाले प्रतिकेजी २० रुपैयाँका दरले बेचेको बन्दा उनले बानेश्वरको स्थानीय तरकारी बजारबाट ६० रुपैयाँ प्रतिकेजी किनिन्।
‘घरमा तरकारी फालाफाल छ। यहाँ तरकारी खान १०० चोटी सोच्नुपर्छ।’ उनले हाँस्दै भनिन्, ‘मेरो घर र काठमाडौंको दूरी लगभग ४० किलोमिटर मात्र हो। उता बुवाआमाले तरकारी मनग्य फलाउनुहुन्छ, यता मलाई कुपोषण लाग्ने बेला भैसक्यो। त्यही तरकारी यता किन्न तेब्बर बढी मूल्य तिर्नुपर्छ, कसरी खान सक्नु?’
एक महिनाको अवधिमा अधिकांश तरकारीको थोक तथा खुद्रा मूल्यमा बृद्धि भएको छ।
कालिमाटी तरकारी तथा फलफूल बजार बिकास समितिका अनुसार एक महिनाको अवधिमा ठूलो गोलभेडा २३ प्रतिशत, सानो गोलभेडा १७, आलु ६ , प्याज ६, गाँजर ५७, बन्दा ६०, काउली २३, मूला २२, घिरौला १५, हरियो प्याज १२७ प्रतिशतले मूल्य बृद्धि भएको छ।
ब्रोकाउली ३१, चुकुन्दर १३, सुकेको खुर्सानी ९, हरीयो खुर्सानी ८६ प्रतिशत, हरियो धनीयाँ २७२ प्रतिशतले बढेको छ। एक महिना अगाडि प्रतिकेजी ८५ रुपैयाँमा कारोबार भएको ठूलो गोलभेडा आज १०५ रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ।
त्यस्तै सानो गोलभेडा १००, आलु ४८, प्याज ४८, गाजर ५५, बन्दा ४५, काउली १०५, मूला ५५, फर्सी ५५, हरीयो प्याज १२५, ब्रोकाउली १२५, हरीयो खुर्सानी १४० हरीयो धनियाँ २०५ रुपैयाँ प्रतिकेजीमा खुद्रा कारोबार भइरहेको छ। यो कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूची हो।
काठमाडौंका अन्य बजारमा भने तरकारीको मूल्यमा एकरुपता छैन्। अन्य बजारमा सर्वसाधारणले यो भन्दा पनि महँगो मूल्यमा तरकारी किन्नुपर्ने बाध्यता छ।
किसानबाट उपभोक्तासम्म तरकारी आइपुग्दा ३/४ वटा बिचौलिया (माध्यम) सक्रिय रहन्छन्। जसले गर्दा किसानबाट उपभोक्तासम्म आउँदा तरकारीको मूल्य तेब्बरसम्म हुने गरेको छ। सरकारी अनुगमन प्रभावकारी हुन सकेको छैन।
तर सम्बद्ध अधिकारीहरु भने जहिले पनि माग आपूर्तिको सन्तुलन नमिल्दा तरकारीको मूल्य बढेको भन्दै पन्छिने गरेका छन्। तरकारीको मूल्य बढ्नुको कारण बजार अनुगमन फितलो हुनु र हावाहुरीले तरकारी खेतिमा भएको नोक्सानी भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी बिनोद श्रेष्ठको भनाइ छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभागका निर्देशक योगेन्द्र गौचनले कालिमाटीमा किसानकै संलग्नतामा स्टलहरु राखिएकोले मूल्य प्रतिस्पर्धी हुने गरेको दावी गर्छन्।
उनी भन्छन्, ‘ कालिमाटीमा किसानले नै स्टल राखेर ब्यापार गर्छन्, तर बाहिरका बजारमा ब्यापारीले लगेर बेच्दा केही महँगो भएको हो।’ तरकारीको माग अनुसार आपूर्ति नहुनु र हावाहुरीले क्षति पुग्नु मूल्यवृद्धिका प्रमुख कारण रहेको उनी औंल्याउँछन्।
उनी भन्छन्, ‘ तरकारीको मूल्य बढ्नुको कारण अनुगमन नहुनु होइन। हामीले निरन्तर अनुगमन गरिरहेका छौँ। माग र आपूर्तिको तालमेल नमिल्नु र हावाहुरीका कारण तरकारीको मूल्य बढेको हो।’