सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ ।
सदरमुकाम इनरुवासहित जिल्लाको कोसी, भोक्राहा, नरसिंह, गढी, बर्जु, हरिनगर, देवानगञ्जलगायतका गाउँपालिका र झुम्का, दुहबीलगायतका नगरपालिकामा आज बिहान एक्कासि आएको असिनापानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको हो ।
असिना, पानी र हावाहुरीका कारण सुनसरीमा मात्र रु एक करोड मूल्य बराबरको क्षति तरकारी बाली, दलहन, रुख बिरुवा, आँप, लिचीलगायतका फलफूलमा क्षति भएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ ।
हावाहुरीका कारण जिल्लाका अधिकांश स्थानमा रुख बिरुवा ढलेर क्षतिग्रस्त बनेको स्थानीय चन्दन मेहताले बताए।
अचानक आज बिहान ४ः३० बजेदेखि शुरु भएको हावाहुरी र असिनापानीले केरा, लहरे बाली, तरकारी बाली र वन नर्सरी तथा रुख बिरुवामा क्षति पुगेको स्थानीय वीरेन्द्र मेहताले बताए।
हावाहुरीले भित्र्याउन लागेको मकैबालीमा पनि क्षति पुगेको छ भने तरकारी बाली डुबानमा परेको कृषकले बताएका छन् । हावाहुरीले सिंगै रुख बिरुवा ढलेर सखाप भएका छन् भने केरा बाली पूर्णरुपमा सखाप भएको कृषकले बताएका छन् । हावाहुरीले जिल्लाका विभिन्न भागमा कैयौँ घर लडेर क्षतिग्रस्त भएको बबियाका शिक्षक देवकृष्ण यादवले बताए।
उता हावाहुरीका कारण केही स्थानमा विद्युत् पोलमा समेत क्षति भएकाले बिहानदेखि विद्युत् अवरोध भएको छ । जिल्लामा आँप, कटहर, लिची र जामुनमा राम्रो फल लागेको भएपनि हावाहुरी र असिनापानीले ८० प्रतिशतमा क्षति पुर्याएको कृषकले बताएका छन् ।