युनाइटेड नेपाली डायस्परा अर्गनाइजेसन (युएनडिओ) ले गैरआवासीय नेपाली (एनआरएन) का लागि दिने भनिएको १० वर्षे भिसा प्रावधानको विरोध गरेको छ।
युएनडिओका अध्यक्ष सोनाम लामाले आज एक विज्ञप्ति जारी गर्दै सरकारी निर्णयले आफ्नै देशमा निर्वाध घुम्न पाउने प्रावधानलाई संकुचित बनाएको उल्लेख गरेका छन्।
१० वर्ष नेपालमा बस्दा निःशुल्क भिसा, नेपालमा कम्पनी खोल्न सक्ने र विदेशी नागरिकको रूपमा अनुमति लिन नपर्ने व्यवस्था गरेको जानकारीमा आएकोले मन्त्रिपरिषदको निर्णयले पनि गैरआवासीय नेपाली परिचयपत्र र नागरिकता खासै फरक अधिकारहरूको व्यवस्था गर्न नसकेकोमा आफूहरूको गम्भीर ध्यानकार्षण भएको युएनडिओको विज्ञप्तिमा उल्लेख छ।
'आफ्नो देशमा निर्वाध रूपमा आउन र बस्न पाउनु पर्ने सामान्य अधिकारको समेत १० वर्षे भिसाको प्रावधानले संकोचित बनाउने देखिन्छ,' विज्ञप्तिमा भनिएको छ, 'मन्त्रिपरिषदको निर्णयले भिसा र लगानी बाहेक गैरआवासीय नेपाली नागरिक सम्बन्धी अन्य अधिकारहरू जस्तै: शिक्षा, सम्पत्ति, पेसा आदिका विषयहरूमा मौन रहेकोप्रति पनि युएनडिओ नेपाल सरकारको ध्यानाकर्षण गर्दछ।'
नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान गर्न सक्ने नेपाली मूलका विदेशी नागरिकहरूलाई हौसला र प्रेरणा दिन गैरआवासीय नेपाली नागरिकहरूले पनि संविधानमा उल्लेख भए अनुसार राजनीतिक बाहेक अन्य अधिकार सबै नेपाली नागरिकहरू सरह हुनु पर्नेमा आफूहरू स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ।
'किस्तामा उपलब्ध गराइने नागरिक अधिकारहरूले विदेशमा रहेका हाम्रा पछिका पुस्तालाई मातृभूमिको विकासमा चिन्तित भई योगदान पुर्याउन प्रेरणा गर्न नसक्ने हाम्रो विश्वास छ,' युएनडिओ अध्यक्ष लामाले भनेका छन्, 'युएनडिओ, आगामी दिनहरूमा सरोकारवाला सबैसँग समन्वय र सहकार्य गर्न सधैं तयार रहेको जानकारी गराउँदछौं।'
पुस २६ गते सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले अब १० वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने निर्णय गरेको थियो।