इरानले इसराइली आक्रमणको जबाफ दिन संकोच मान्नुपर्ने अवस्था नरहेको बताएको छ।
शनिबार इसराइलले इरानमाथि आक्रमण गरेपछि इरानले त्यसको जबाफ दिन आफूहरू तयार रहेको बताएको हो।
इसराइली आक्रमणपछि इरानका विदेशमन्त्री सैयद अब्बास अरगचीले आफ्नो देशले अखण्डता र सुरक्षाको कुनै पनि उल्लङ्घनलाई उपयुक्त समयमा निर्णायक र उचित जबाफ दिन नहिचकिचाउने बताएका हुन्।
इरानका राष्ट्रपति मसुद पेजिस्कियनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै मूर्खताको कुनै कार्यको प्रतिक्रिया दिने बताएका छन्।
इरानमा इसराइलले आक्रमण गरेपछि राष्ट्रपति पेजिस्कियनले कतार, इजिप्ट र सिरियाका समकक्षीहरूसँग कुराकानी समेत गरेका थिए।
शनिबार नै गरेको कुराकानीमा उनले पछिल्लो घटनाक्रमबारे उनीहरूसँग राय सुझाव लिएका थिए।
कुराकानीपछि तीनै देशका विदेशमन्त्रीहरूले इरानमा इसराइली आक्रमणको निन्दा गरेको विज्ञप्तीमार्फत जानकारी दिइएको छ।
उनीहरूले गजामा युद्धविरामको विषयमा पनि छलफल भएको बताइएको छ।
शनिबारको आक्रमणपछि इसराइलले आफ्नोतर्फबाट कारबाही समाप्त भएको भनिसकेको छ। यद्यपि इरानले पुनः आक्रमण गरे त्यसको जबाफ भने दिने बताएको छ।
अमेरिकाले पनि इरानलाई जबाफी कारबाहीको नाममा इसराइलमाथि आक्रमण नगर्न र क्षेत्रीय द्वन्द्वलाई थप तनावमा नलैजान सुझाएको छ।
शनिबार इसराइलले इरानको तेहरान आसपास सैन्य अड्डाहरूलाई लक्षित गरी आक्रमण गरेको थियो।आक्रमणबाट कति क्षति भयो भन्ने विषय भने दुवै पक्षबाट सार्वजनिक भएको छैन।
उक्त आक्रमणलाई इसराइलले अक्टोबर १ मा इरानले गरेको आक्रमणको जबाफ भनेको छ।
इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख कमाण्डर र कमाण्डरहरूलाई इसराइलले मारेको, गजामा भएको कारबाही र हमासका कमाण्डरहरू मारिएको र यसमा इसराइलको हात रहेको आरोप लगाउँदै इरानले इसराइलमाथि अक्टोबर १ मा आक्रमण गरेको थियो।
त्यतिबेला १८० वटाभन्दा बढी मिसाइलले इसराइलमाथि आक्रमण गरेको थियो। त्यसलाई इरानले इसराइलमाथि अहिलेसम्म गरेको ठूलोमध्येको हमला भनिएको छ।
सो आक्रमणपछि इसराइलले त्यसको जबाफ दिने र इरानले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दिँदै आएका थिए।
त्यसपछि मध्यपूर्वको लडाइँमा इसराइललाई सहयोग गर्दै आएको अमेरिकाले इरानमा आक्रमण गर्दा सैनिक अड्डाहरूमा मात्र निशाना बनाउन इसराइललाई सुझाव दिएको थियो।
सोहीअनुसार शनिबार बिहान इसराइलले इरानी सैन्य अड्डाहरूलाई मात्र लक्षित गरेर आक्रमण गरेको थियो।
इरानले अक्टोबर १ को आक्रमणपछि इसराइल प्रत्याक्रमणमा उत्रिए त्यसको जबाफ दिन तयार रहेको बताउँदै आएको थियो। इसराइलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वको द्वन्द्व थप उत्कर्षमा पुगेको छ।
इसराइल इरानसँगै गजामा हमास र लेबननमा हिजबुल्लाहसँग लडाइँमा छ।