पाकिस्तानको बलोचिस्तानमा कम्तीमा पनि २३ जनाको गोली हानेर हत्या भएको छ।
पाकिस्तानको समाचार पत्र डनका अनुसार सोमबार बिहान बलोचिस्तानको मुसाखैल जिल्लामा बन्दुकधारी समूहले गाडीबाट उतारेर कम्तीमा २३ जनाको हत्या गरिएको हो।
हत्या गर्नुअघि उनीहरूले परिचय पत्र समेत जाँच गरेको समाचारमा उल्लेख छ।
मुसाखैलका असिस्टेन्ट कमिशनर नजीब ककरका अनुसार बन्दुकधारी समूहले अन्तरप्रदेशीय हाइवेको राराशम क्षेत्रमा गाडीहरू रोकेका थिए। हाइवेमा आएका बस, भ्यान, ट्रकलाई रोकेर यात्रुहरूलाई उतार्न थालेको उनले बताए।
‘आतंकवादीहरू ३० देखि ४० जनासम्म थिए। उनीहरूले २२ वटा गाडी रोके,’ उनले भने, ‘पञ्जाबतर्फ जाँदै गरेका र त्यहाँबाट आउँदै गरेका सवारीसाधनमा रहेका यात्रुको हत्या गरिएको हो।’
मृतकहरू पञ्जाबको रहेको डनले जनाएको छ। १७ वटा ट्रक, दुई वटा भ्यान र चार वटा पिकअप गाडी गरी कुल २३ वटा गाडीमा आगजनीसमेत गरेको कमिशनर ककरले बताए।
घटनाको केहीबेरपछि अधिकारीहरू पुगेर शवलाई अस्पताल पुर्याइएको थियो।
बलोचिस्तानमा सक्रिय रहेको बलोच लिबरेशन आर्मी (बिएलए) नामको आतंकवादी समूहले घटनाको जिम्मा लिएको डनले समाचारमा उल्लेख गरेको छ।
यसअघि गत अप्रिलमा पनि ९ जना यात्रुलाई बलोचिस्तानकै नोशकी जिल्लामा गाडीबाट उतारेर गोली हानेर हत्या गरिएको थियो। त्यतिबेला पनि यात्रुको परिचयपत्र जाँचिएको थियो।