भूकम्पपीडित बालबालिकाहरूलाई शिक्षामा सहयोगका लागि स्थापना गरिएको शैक्षिक कोषका लागि गैरआवासीय नेपाली संघ जापानले २३ लाख जापानी येन हस्तान्तरण गरेको छ।
गतवर्ष जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका प्रभावित बालबालिकहरूलाई उनीहरूको शिक्षामा सहयोग गर्नका लागि संकलित २३ लाख जापानी येन शनिबार टोकियोमा आयोजित कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो।
एनआरएनए आइसिसीका उपाध्यक्ष रविन शेरचन, एनआरएनए जापानका अध्यक्ष नविन निउरेले संयुक्त रुपमा कर्णाली प्रदेश समाजका अध्यक्ष कृष्ण शाहीमार्फत त्यस क्षेत्रका स्थानीय सरकारलाई सो कोष स्थापना गरी उद्देश्य अनुरूप सञ्चालनका लागि रकम हस्तान्तरण गरिएको 'भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोष' संकलन अभियानका संयोजक सुवास लामिछानेले जानकारी दिए।
भूकम्पमा परी आमाबुवा वा कोही एकको मुत्यु भएकामध्य केही बालबालिकालाई स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा आधारभुतदेखि एसइईसम्म पढ्नका लागि सहयोग गर्न उक्त कोष स्थापना गरी सञ्चालन गरिने संयोजक लामिछानेले जानकारी दिए।
अभियानबाट संकलित रकमलाई एनआरएनए आइसिसी र भूकम्प प्रभावित क्षेत्रका स्थानीय सरकारसँगको सहकार्य र नीति बमोजिम निश्चित बैंकमा राखी त्यसबाट प्राप्त ब्याजमार्फत उक्त शैक्षिक कार्यमा सहयोग गरिने एनआरएनए योजना रहेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेको भनाइ भनाइ छ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै एनआरएनए आइसिसीका उपाध्यक्ष रविन शेरचनले एनआरएनएले सामाजिक उत्तरदायित्वका क्रियाकलाहरूमा गर्दै आइरहेको र सोहि सन्दर्भमा एनआरएनए जापानले शिक्षा क्षेत्रमा गरेको यो कार्यले नेपाली समाजमा सकारात्मक सन्देश जाने विचार व्यक्त गरे।
एनआरएनए एसिया क्षेत्रीय समन्वय समितिका उपसंयोजक दिपक कँडेलले एनआरएनए नेपालीलाई दुखेको ठाउँमा उपस्थित हुने मान्यता अनुरूप एनआरएनए जापानले भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक गतिविधिमा कोष स्थापना गरेर दीर्घकालीन सुखद सुरुवातको कार्य गरेकोमा खुशी व्यक्त गरे।
कार्यक्रममा रकम हस्तान्तरित गर्दै कर्णाली प्रदेश समाजका अध्यक्ष कृष्ण शाहीले उद्देश्यअनुरूप कोष स्थापना र सञ्चालन गर्न आफूहरुले आवश्यक पहल र समन्वय गर्ने बताए।