बंगलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको एक महिना लामो आन्दोलनमा तीन सय जनाभन्दा बढीले ज्यान गुमाए।
विद्यार्थीहरूको आन्दोलन दबाउन सरकारको निर्देशनमा सुरक्षाकर्मीले गोली चलायो। सेनाले गोली चलाउन थालेपछि बंगलादेशमा विद्यार्थी आन्दोलन अझै उग्र बन्दै गयो र अन्त्यमा प्रधानमन्त्रीले नै देश छाडेर भाग्नुपर्यो।
विद्यार्थी आन्दोलनको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
भिडिओमा एक जना युवक सुरक्षाकर्मीको प्रहार आफ्नो छातीमा थापिरहेका देखिन्छन्। आफूतर्फ प्रहार भएको ढुंगा, इँटाका टुक्रा, लठ्ठीको झटारो केही छल्छन् केही छातीमा थाप्छन्।
उनलाई आन्दोलनकारी समूहकै केही व्यक्तिले त्यहाँबाट हटाउन खोज्छन् तर उनी डटिरहन्छन्। अन्तिममा चार साथीहरूले झ्याइँकुटी बनाएर लैजान्छन्। उनीमाथि सुरक्षाकर्मीले गोली चलाएका थिए। साथीहरूले झ्याइँकुटी बनाएर लैजादा लैजाँदै उनले शरीर छाडिसकेका थिए।
उनी थिए बेगम रोकेया विश्वविद्यालयका २५ वर्षीय छात्र अबु सैयद। कोटा प्रणाली सुधार आन्दोलनका क्रममा जुलाई १६ मा उनको हत्या भएको थियो।
तिनै सैयदका परिवारलाई शनिबार बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले भेटेका छन्।
ढाकाबाट हेलिकप्टरबाट रंगपुरको पिरगन्ज पुगेर युनुसले सैयदको शोकमा रहेका परिवारलाई भेटेका हुन्।
भेटपछि पत्रकारहरूसँगको कुराकानीमा उनले आन्दोलन र दृष्टिकोणमा अबु सैयदजसरी उभिनुपर्ने बताए। अबुको परिवार सम्पूर्ण बंगलादेशी नागरिकको परिवार रहेकाले उनीहरुको रक्षा मिलेर गर्नुपर्ने पनि उनले बताए।
‘अबु सैयदकी आमा सबैको आमा हुन्। हामीले उनको रक्षा गर्नु पर्छ, सबै मिलेर उनका दिदीबहिनीको रक्षा गर्नुपर्छ, उनका दाजुभाइको रक्षा गर्नुपर्छ,’ उनले भने।
युनुसले बंगलादेश निर्माणको जिम्मेवारी सम्पूर्ण बंगलादेशी नागरिकको रहेको र देश बनाउने अभियानको हरक्षण सैयद सम्झनामा रहने बताए।
अबु एउटा परिवारको मात्रै सदस्य रहेनन्। उनी सम्पूर्ण बंगलादेशी परिवारका सन्तान हुन्। बंगलादेशको हरेक छात्रछात्राहरु जो स्कुल र कलेज पढ्दै जानेछन् उनीहरू सबैले अबु सैयद र उनको योगदानलाई चिन्नेछन्। अबु सैयद उनीहरूमा हुनेछ,’ युनुसले भने।
युनुसले अगाडि भने, ‘बंगलादेश एउटै मात्र हुनेछ। जुन अबु सैयदको बंगलादेश हुनेछ। जहाँ अबु सैयदहरूले चाहेको जस्तो सामाजिक न्याय हुनेछ र विभेद हुनेछैन।’
यसका लागि सबै बंगलादेशी नागरिकहरू एकीकृत भएर देश बनाउने महान अभियानमा लाग्नुपर्ने बताए।