बंगलादेशको प्रधानमन्त्रीबाट हालै राजीनामा दिएकी हसिना शेखकी छोरा सजीव वाजेदले आफू राजनीतिमा आउन तयार रहेको बताएका छन्।
अवामी लिग पार्टीलाई बचाउन आफू राजनीतिमा आउन तयार रहेको उनको भनाइ छ।
यसअघि राजनीतिमा आउन कुनै इच्छा नरहेको बताउँदै आएका वजेदले टाइम्स अफ इन्डियासँग कुराकानी गर्दै अवामी लिग पार्टी र यसमा कार्यरत व्यक्तिहरूलाई जोगाउन राजनीतिमा प्रवेश गर्न तयार रहेको बताएका हुन्।
अमेरिकाको राजधानी वासिङटन डिसीमा रहेका उनले फोनमार्फत टाइम्स अफ इन्डियालाई अन्तर्वार्ता दिएका थिए।
‘यदि राजनीतिमा मेरो आवश्यकता छ भने म पछि हट्दिनँ। आमा पनि यो कार्यकालपछि राजनीतिमा सक्रिय हुनु हुन्थेन। राजनीति गर्ने मेरो कहिल्यै इच्छा भएन र म अमेरिकामा बस्न आएँ,’ उनले भने, ‘तर पछिल्लो घटनाक्रमले बंगलादेशमा नेताको आवश्यकता रहेको महसुस भएको छ। पार्टीकै लागि म सक्रिय हुनुपर्ने देखियो।’
उनकी बहिनी साइमा वाजेद विश्व स्वास्थ्य संगठनकी क्षेत्रीय निर्देशक छिन्। उनले पनि आफू निर्देशकको रूपमा काम गरिरहने बताएकी छन्।
शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर निर्वासित भएको तेस्रो दिन बंगलादेशमा नोबल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार वठन भएको छ। बिहीबार राति युनुससहित १७ जनाले शपथ लिएका थिए।
अन्तिम समयमा छोराले अमेरिकाबाट फोन गरेर सत्ता छाड्न मनाएका थिए हसिनालाई
१५ वर्ष शासन गरेकी शेख हसिना ७६ वर्षको उमेरमा देश छाड्न बाध्य भइन्। महिना दिनभन्दा लामो आन्दोलनलाई बल प्रयोग गरेर दबाउने दुष्प्रयास अन्तिममा हसिनाकै लागि प्रत्युत्पादक बनेको छ।
देशभरबाट लाखौं आन्दोलनकारीहरू ढाका पुगेर प्रधानमन्त्री निवास घेर्न थालेपछि हसिना गत सोमबार (साउन २१) देशै छाडेर भागेकी हुन्। अहिले भारतको शरणमा रहेकी उनी बेलायत जाने तयारीमा छिन्। केही कागजपत्रको काम बाँकी रहेकाले हसिना केही दिन भारतमै रहने भनिएको छ।
हसिनाले देश छाड्नुभन्दा एक घन्टाअगाडि के-के भएको थियो भनेर अमेरिकी समाचार संस्था द न्युयोर्क टाइम्सले लेखेको छ।
टाइम्सका अनुसार अन्तिम समयमा पनि हसिना राजीनामा दिने पक्षमा थिइनन्, बरु बल प्रयोग गरेरै आन्दोलनलाई निस्तेज पार्ने योजनामै थिइन्।
अघिल्लो दिनको प्रदर्शनमा बल प्रयोग हुँदा सय जनाको हाराहारीमा आन्दोलनकारी मारिएका थिए। त्यसअघि दुई सय जना मारिइसकेका थिए। तीन सय हाराहारीमा प्रदर्शनकारी मारिएपछि विद्यार्थीहरूले सुरू गरेको आन्दोलनमा समाजका अन्य तप्काका मानिसहरू पनि जोडिएका थिए।
त्यति मात्रै होइन बंगलादेशको सेनाका पूर्वप्रमुखहरूले विज्ञप्ति नै जारी गरी विद्यार्थीहरुको प्रदर्शनमा बल प्रयोग नगर्न र संवादबाटै समस्याको समाधान गर्न प्रधानमन्त्री हसिनालाई सुझाव दिएका थिए।
सोमबार देशभरका विद्यार्थी र नागरिकहरूलाई ढाका आउन भनिएको थियो। आह्वानअनुसार नै सोमबार हजारौं हजारका संख्यामा मानिसहरू ढाका जाँदै थिए। उनीहरूले प्रधानमन्त्री कार्यालय घेर्ने भनिएको थियो।
हसिनाले कम आकेको प्रदर्शनमा लाख हाराहारीमा मानिसहरू सहभागी भएको भन्ने सूचनापछि सबै सुरक्षानिकायका प्रमुखहरू प्रधानमन्त्री कार्यालय पुगेर आन्दोलनको अवस्थाबारे बुझाएका थिए।
त्यसका बाबजुद पनि हसिना बल प्रयोग गरेरै आन्दोलनलाई निस्तेज गर्न सकिन्छ भन्ने पक्षमा रहेको न्युयोर्क टाइम्सको समाचारमा उल्लेख छ।
प्रधानमन्त्री हसिनाको योजनामा सेनाप्रमुख जनरल वाकर उज-जमन सहमत भएनन्। उनले बल प्रयोग गर्ने प्रधानमन्त्री हसिनाको आग्रहलाई ठाडै अस्वीकार गरिदिए। हसिनामाथि नै सुरक्षा खतरा पैदा भएकाले बरू राजीनामा दिएर र देश छाड्नका लागि जनलर वाकरले सुझाए।
उनले प्रधानमन्त्रीकै रक्षाका लागि ठूलो रक्तपात हुने अवस्था आउन सक्ने र त्यसका बाबजुद पनि यति ठूलो भीड निस्तेज हुने सम्भावना नरहेको बताएका थिए।
जनरल वाकरले अब बल प्रयोग गर्दा धेरै ठूलो रक्तपात हुने बताएर मनाउने प्रयत्न गरे पनि हसिना सहमत नभएको न्युयोर्क टाइम्सले जनाएको छ।
त्यसपछि सेनाप्रमुख वाकरले हसिनाका परिवारसँग कुरा गरे। बेलायतमा बसिरहेकी हसिनाकी बहिनी शेख रेहाना केही दिनअघि मात्रै बंगलादेश आएकी थिइन्।
रेहानाले हसिनासँग गोप्य कुरा गर्ने जानकारी सेनाप्रमुखलाई गराइन्। हसिना कोठाभित्र गइन् र २० मिनेटपछि निस्किइन्। त्यतिन्जेल सेनाप्रमुखहरू ढोकामा हसिनालाई कुर्दै उनको जवाफ पर्खेर बसिरहेका थिए।
बहिनीसँगको संवादपछि केही सकारात्मक देखिए पनि हसिना राजीनामा दिने र देश छाड्ने विषयमा भने सहमत भइसकेकी थिइनन्। उनी त्यतिबेलासम्म पनि बल प्रयोग गर्ने पक्षमै थिइन्। त्यसपछि सेनाप्रमुख जनरल वाकरले अमेरिकामा रहेका हसिनाका छोरा सजीव वाजेदलाई सम्पर्क गरे।
उनले हालत नियन्त्रणबाहिर पुगिसकेको र थप बल प्रयोग गर्न नसकिने अवस्थाको जानकारी गराउँदै राजीनामा गर्नका लागि आमालाई मनाउन भने।
जनरल वाकरले फोन हसिनालाई दिए। छोरा वाजेदसँग कुरा गर्दा हसिना शान्त देखिएकी थिइन्। उनले सहमतिभावमा मुन्टो हल्लाउँदै गरेको त्यहाँ बसेका सुरक्षा प्रमुखहरूले हेरिरहेका थिए।
छोरासँग कुरा गरेपछि मात्रै हसिना राजीनामा दिन र देश छाड्न तयार भइन्।
‘उहाँ देश छाड्न तयार हुनुहुन्थेन। हामीले उहाँको सुरक्षालाई पहिलो प्राथमिकता दियौं। त्यसकारण उहाँलाई देश छाड्न राजी गरायौं,’ भारतीय सञ्चार माध्यमहरूसँगको कुराकानीमा वाजेदले भनेका छन्।
देश छाड्नुअघि हसिनाले प्रधानमन्त्री निवासमै पत्रकार सम्मेलन गरी सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको थियो।
तर प्रत्यक्ष प्रसारणका लागि उपकरणहरू बोकेर आएको गाडी प्रधानमन्त्री निवास नभई सेनाको मुख्यालयतर्फ गएपछि हसिनाले सम्बोधन गर्नसमेत नपाएको बताइएको छ। शक्तिको बागडोर प्रधानमन्त्रीबाट सेना प्रमुखकोमा पुगिसकेको भन्ठानेर उनीहरू पनि सैनिक मुख्यालयमा गएको हुनसक्ने न्युयोर्क टाइम्सले लेखेको छ।
त्यसकारण पनि लगत्तै सेना प्रमुखले सम्बोधन गर्ने समाचारहरू आएका थिए। सेनाप्रमुखले सम्बोधन गर्ने भनेपछि आन्दोलनरत पक्ष पनि प्रधानमन्त्री हसिनाले राजीनामा दिएको अनुमान लगाइसकेका थिए।
लगत्तै सेनाको बख्तरबन्दसहिको सुरक्षामा हसिनालाई हेलिप्याडसम्म पुर्याएर त्यहाँबाट भातरतर्फ उडाएको थियो।
यसको पुष्टि भारतका विदेशमन्त्री एस. जयशंकरले पनि गरेका छन्। मंगलबार संसदमा बोल्दै जयशंकरले अन्तिम समयमा मात्रै प्रधानमन्त्री हसिनाले भारत आउनका लागि अनुमति मागेको बताएका छन्।
‘केही समयका लागि भारत आउनका लागि अनुमति दिन उहाँले अन्तिम समयमा मात्रै अनुरोध गर्नुभएको थियो, त्यसबारेमा छोटो समयमै निर्णय गर्नुपर्यो,’ जयशंकरले संसदमा मंगलबार भनेका थिए।
प्रधानमन्त्री हसिनाले देश छाड्ने सहमति गरेलगत्तै सेना प्रमुखले त्यहाँका कुटनीतिक नियोग र विपक्षी दलहरूसँग छलफल अगाडि बढाइसकेका थिए। हसिनाले देश छाडेपछि सम्बोधन गर्दै सेनाप्रमुख जनरल वाकरले चाँडै नै अन्तरिम सरकार बन्ने घोषणा गरेका थिए।
घोषणाअनुसार नै बुधबार त्यहाँ नोबल पुरस्कार विजेता मोहम्मद युनुस अन्तरिम सरकार प्रमुख बनेका छन्। अन्तरिम सरकारमा अन्य सदस्यहरू केही दिनमै तोकिने भनिएको पनि छ।
आन्दोलनरत विद्यार्थीहरूको नेतृत्व गरिरहेका नहिद इस्लाम र सेना प्रमुखसहित मंगलबार राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँग बैठक गरेका थिए।
आन्दोलनरत विद्यार्थीहरूको मागअनुसार नै राष्ट्रपति शाहबुद्दिनले ८४ वर्षीय युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेका हुन्।
युनुसले सन् २००६ को नोबल पुरस्कार पाएका थिए। उनले बंगलादेशमा माइक्रोफाइनान्सको अवधारणा सुरूआत गरेका थिए।
न्युयोर्क टाइम्सका अनुसार गरिबहरूलाई पनि आर्थिक उन्नति गर्ने अवसर मिलोस् भन्ने हेतुले उनले सन् १९८३ मा ग्रामीण बैंकको स्थापना गरेका थिए। बैंकहरूले ऋण नपत्याउने गरिब नागरिकहरूले उनले स्थापना गरेको ग्रामीण बैंकबाट ऋण पाउँथे। सोही कार्यका लागि उनलाई नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
उनी शेख हसिनाका कट्टर विरोधीसमेत मानिन्छन्। अब बंगलादेशमा उनकै नेतृत्वको अन्तरिम सरकारले विद्यार्थी आन्दोलनका मागहरू सम्बोधनका लागि काम गर्नेछ।
पढ्नुस्ः शेख हसिनाको उदय र पतनको विस्तृत
को हुन् बंगलादेशमा अन्तरिम सरकार प्रमुख बन्न लागेका मुहम्मद युनुस?
को हुन् हसिनालाई सत्ताच्यूत गर्ने आन्दोलनका 'नायक' २६ वर्षीय नाहिद इस्लाम?
बंगलादेशको त्रासदीले सिकाएका ५ पाठ