बंगलादेशमा दुई सातादेखि आन्दोलन भइरहेको छ।
राजधानी ढाकालगायत देशका विभिन्न सहर र विश्वविद्यालयहरूमा आन्दोलन भइरहेको छ।
आरक्षणविरूद्धको प्रदर्शनमा झडप हुँदा ६ जनाको मृत्यु भइसकेको बिबिसी हिन्दीले जनाएको छ।
सरकारी जागिरमा देशको स्वतन्त्रताका लागि लडेका सेनाका छोराछोरीका लागि ल्याइएको आरक्षणको विरोधमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था अल्जजिराका अनुसार सोमबार र मंगलबारमात्रै चार सय जनाभन्दा बढी मानिस घाइते भएका छन्।
सन् १९७१ मा पाकिस्तानसँग छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका परिवारका छोराछोरीलाई विशेष आरक्षण दिने सरकारले नीति ल्याएको थियो। प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्नेहरूलाई लाभ पुर्याउन यस्तो नीति ल्याइएको भन्दै विरोध भइरहेको छ।
सन् २०१८ मा यसरी आरक्षणको नीति ल्याइएको थियो। तर कयौं सातासम्म प्रदर्शन भएपछि सरकार निर्णयबाट पछि हटेको थियो।
त्यसैबीच जुलाइ पहिलो साता बंगलादेशको उच्च अदालतले सरकारी निर्णयको पक्षमा फैसला गरेको अल्जजिराको समाचारमा उल्लेख छ। उच्चको फैसलासँगै सरकारी जागिरमा एक तिहाइ कर्मचारीहरू स्वतन्त्रताका लागि लडेका परिवारका छोराछोरीले पाउने भएका थिए। यो समूहका लागि ३० प्रतिशतको आरक्षण छुट्याइएको थियो।
यस्तो फैसला आएसँगै बंगलादेशका सरकारी र निजी विश्वविद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। विद्यार्थीहरूले आफूहरू कुनै पनि राजनीतिक समूहबाट नभएको बताएका छन्।
बंगलादेशमा पहिलो र दोस्रो श्रेणीको सरकारी जागिरका लागि मेरिटका आधारमा हुन्छ। बाँकी ५६ प्रतिशत आरक्षणमा छुट्याइएको हो।
३० प्रतिशत स्वन्त्रताका लागि लडेका व्यक्तिका छोराछोरीका लागि छुट्याउँदा, १० प्रतिशत महिला, १० प्रतिशत पिछडिएको जिल्ला, ५ प्रतिशत अल्पसंख्यक समुदाय र एक प्रतिशत अपांगता भएका व्यक्तिहरूका लागि छुट्याइएको छ।
प्रदर्शनकारीहरूले अन्य आरक्षणमा आफूहरूको बिमती नभए पनि विशेष व्यक्तिहरूका लागि छुट्याइएको ३० प्रतिशत आरक्षणमा भने असहमति भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन्।
यसरी प्रदर्शन गर्दा सरकारले पनि जबाफी कारबाही गर्न थालेको हो। अश्रुग्यास र लाठीचार्ज गर्दा कतिपय विद्यार्थीहरू घाइते भएका हुन्। अहिले पारामिलिटरी ट्रुपहरू पनि विभिन्न जिल्लामा खटिएका छन्। त्यस्तै सरकार समर्थक विद्यार्थीहरू पनि सडकमा उत्रिँदा आन्दोलन थप चर्किएको हो।
यसरी प्रदर्शन हुँदा सरकारको नीतिको विरोध गर्नेहरूलाई प्रधानमन्त्री हसिनाले देशविरोधी भनेकी छन्।
स्वतन्त्रताको लडाइँका बेलामा आफ्नो देशलाई धोका दिनेहरूलाई ‘रजाकार्स’ भनेर होच्याउने गरिन्थ्यो। हसिनाले प्रदर्शनरत विद्यार्थीहरूलाई पनि रजाकार्स भनेकी छन्।
‘उनीहरूमा स्वतन्त्रता सेनानीहरूप्रति किन यति धेरै आक्रोश? यदि स्वतन्त्रताका लडेका सेनानीहरूका नातिहरूले आरक्षणको सुविधा नपाए रजाकार्सहरूले पाउँछन् त?,’ आइतबार भएको पत्रकार सम्मेलनमा उनले भनेकी थिइन्।
त्यसपछि प्रदर्शनरत विद्यार्थीहरूले पनि त्यसैलाई नारा बनाएर प्रदर्शन गरेका थिए। देशभरि नै प्रदर्शन जारी रहँदा अर्को सूचना जारी नहुँदासम्मका लागि सबै विद्यालय र विश्वविद्यालयहरू बन्द छन्।
ढाकास्थित नेपाली दूतावासले पनि सूचना निकालेर नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन तथा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ।