केन्या सरकारले कर बढाउने गरी ल्याउन लागेको विधेयक फिर्ता लिएको छ।
बुधबार केन्याका राष्ट्रपति विलियम रूटोले कर वृद्धिसम्बन्धी विधेयक फिर्ता लिएका हुन्।
करवृद्धिसम्बन्धी विधेयक संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेपछि केन्यामा देशव्यापी प्रदर्शन भएको थियो।
गत मंगलबार ठूलो संख्यामा प्रदर्शनकारीहरू संसद भवन छिरेका थिए। त्यहाँ प्रदर्शनकारीहरूलाई तितरबितर पार्नका लागि प्रहरीले गोली समेत चलाएको थियो।
प्रहरीले चलाएको गोली लागेर दर्जनौं प्रदशनकारीको मृत्यु भएको थियो। सांसदहरूलाई भूमिगत सुरूङबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
बुधबार टेलिभिजन सम्बोधनमा बोल्दै राष्ट्रपति रूटोले उक्त विधेयक आफूले प्रमाणीत नगर्ने घोषणा गरेका हुन्।
‘केन्याका जनताको मागलाई ध्यानमा राख्दै वित्त विधेयक २०२४ मा हस्ताक्षर नगर्ने निर्णय गरेँ। यो अब फिर्ता जानेछ,’ उनले भने।
उनको घोषणापछि उनीसँग रहेका केही सांसदहरूले ताली बजाएर उक्त निर्णयको स्वागत गरे।
उपराष्ट्रपति रिगाथी गचागुआले विधेयक फिर्ता गर्ने निर्णय भइसकेका कारण प्रदर्शनकारीहरूलाई प्रदर्शन रोक्न आह्वान गरेका छन्।
प्रदर्शनकारीहरूले भने राष्ट्रपतिको राजीनामा मागेका छन्। राष्ट्रपतिले राजीनामा नदिएसम्म सडक आन्दोलन जारी राख्ने भनेका छन्।
समाचार संस्था रोयटर्सका अनुसार प्रहरीको गोली लागेर अहिलेसम्म २३ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने सयौं घाइते छन्।