स्पेन, आयरल्याण्ड र नर्वेले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएका छन्।
इसराइलले प्यालेस्टिनी विद्रोही समूह हमासलक्षित आक्रमण जारी राख्दा बुधबार युरोपेली युनियनमा रहेका दुई देश र नर्वेले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको हो।
युरोपेली युनियनमा रहेका केही मुलुकहरूले यसअघि नै प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिइसकेका छन्।
बुधबार थप तीन देशहरूले मान्यता दिएसँगै अन्य युरोपका शक्ति राष्ट्रहरूलाई पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिन प्रेरित तथा दबाब परेको छ।
इसराइलले भने ती मुलुकहरूको निर्णयप्रति आपत्ति जनाएको छ।
इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले युरोपेली मुलुकहरूले प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता दिनु वा त्यसलाई राज्यका रूपमा चिन्नु आतंकवादलाई बढावा दिएको बताएका छन्।
‘यो आतंकवादलाई प्रोत्साहन गर्नु हुनेछ। जुडिया र समारियाका ८० प्रतिशत प्यालेस्टिनियनहरू हिसांको समर्थन गर्छ। बरू एक आतंकवादी स्टेटको दर्जा दिनुपर्छ,’ बुधबार पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेतन्याहुले भने।
स्वतन्त्र राज्यको मान्यता दिएका तीन मुलुकका प्रधानमन्त्रीहरूले यसलाई इसराइ-हमास युद्धलाई शान्तिमा रूपान्तरण गर्ने तथा प्यालेस्टाइनमा मानवीय संकटलाई समाधान गर्ने उपाय भनेका छन्।
स्पेनी प्रधानमन्त्री पेड्रो स्यान्चेजले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिनु अरू कुनै देशविरूद्ध नहुने बताएका छन्। यो इसराइलीविरूद्ध पनि होइन।
‘यो केबल शान्ति र न्यायका लागि हो,’ उनले भने।
यसअघि १० मे महिनामा संयुक्त राष्ट्रसंघमा भएको मतदानमा १३९ मुलुकहरूले प्यालेस्टाइनलाई एक स्वतन्त्र राज्यको रूपमा पहिचान दिने पक्षमा उभिएका थिए।
१४३ मुलुकहरूले प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको पूर्ण सदस्यता दिने पक्षमा मतदान गरेका थिए। संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनले तत्कालका लागि पर्यवेक्षक मुलुकको दर्जा पाएको छ।
प्यालेस्टाइनले अन्तर्राष्ट्रिय संगठनहरूमा सदस्यता पनि पाएको छ। अरब लीग तथा अर्गनाइजेशन अफ इस्लामिक कोअपरेसन (ओआइसी) मा सहभागी भएको छ।
अरबी देशहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने युरोपेली मुलुकहरूको निर्णयलाई स्वागत गरेका छन्।
युरोपकै शक्ति मुलुकहरूले भने तत्काल प्यालेस्टाइनलाई स्वतन्त्र मुलुकको मान्यता दिन अस्वीकार गरेको छ।
बेलायतका विदेश सचिव डेविड क्यामरूनले हमास प्यालेस्टाइनमै रहँदासम्म त्यसलाई स्वतन्त्र राज्यको मान्यता दिन नसकिने बताएका छन्।
फ्रान्सले पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने निर्णयमा अरू देशहरूसँग रहन नसक्ने भनेको छ।
फ्रान्सका विदेश मन्त्री स्टेफेनी सेजोर्नले प्यालेस्टाइनमा टु स्टेट सोलुसनको माध्यमबाट समस्या समाधान गर्न सकिने बताएकी छन्।