इसराइलले समाचार संस्था अल जजिरालाई प्रतिबन्ध लगाएको छ।
आइतबार इसराइलको मन्त्रिपरिषदले अल जजिरालाई देशभित्र प्रतिबन्ध लगाउने कानुन पारित गरेको हो।
‘इसराइलमा उत्तेजक च्यानल अल जजिरा अब बन्द हुनेछ,’ मन्त्रिपरिषदको निर्णयपछि प्रधानमन्त्री बेन्यामिन नेतेन्याहुले सामाजिक सञ्जालमा लेखेका छन्।
कतारको स्वामित्वमा रहेको समाचार संस्था अल जजिरालाई प्रतिबन्ध लगाउन अनुमति दिने कानुन इसराइली संसदले एक महिनाअघि पारित गरेको थियो।
त्यसमा आइतबार इसरायली मन्त्रिपरिषद्ले देशमा अल जजीराको सञ्चालन बन्द गर्न मतदान गरेको हो। निर्णयसँगै स्याटेलाइट र केबल प्रदायकहरूले अल जजिरालाई हटाएका छन्।
अक्टोबर ७ को आक्रमणपछि इसराइलले गजामा गरेको हमासलक्षित कारबाहीबारे अल जजिराले निरन्तर प्रसारण गर्दै आएको र त्यसमा नागरिकका पीडालाई हाइलाइट गरेको र आफ्ना सैनिकहरूविरूद्ध हिंसा भड्काएको नेतेन्याहुले बताउँदै आएका छन्।
त्यस्तै अरबी भाषाको प्रसारणमा हमास पक्षका भनाई र उनीहरूको सन्देशलाई बढी प्राथमिकता दिएको आरोप पनि प्रधानमन्त्री नेतेन्याहुले अल जजिरामाथि लगाउँदै आएका थिए। उनले अल जजिरालाई आतंकवादी च्यानल भनेका थिए।
मन्त्रिपरिषदको निर्णयअनुसार सुरूमा ४५ दिनका लागि अल जजिराका सबै प्रसारण इसराइलभरी बन्द रहनेछन्। त्यसपछि प्रतिबन्ध थप ४५ दिन लम्ब्याउन सकिने इसराइलको सञ्चार मन्त्रालयले जनाएको छ।
मन्त्रिपरिषदले प्रतिबन्ध लगाउने निर्णय गरेपछि इसरायली अधिकारीहरूले अल जजिराले आफ्नो कार्यालयको रूपमा प्रयोग गर्ने जेरुसलेम होटलको कोठामा छापा मारेको समाचार संस्था रोयटर्सले जनाएको छ।
अल जजिराले इसराइलको उक्त निर्णयप्रति निन्दा गरेको छ।
उसले इजरायली सरकारको निर्णयलाई 'आपराधिक कार्य' भन्दै उक्त निर्णय स्वतन्त्र प्रेसको दमन र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गरेको बताएको छ।
उसले गजाको युद्धमा अहिलेसम्म १४० जना प्यालेस्टिनी पत्रकारहरू मारिएको बताउँदै इसराइलले गरेको हत्या, गिरफ्तारी र धम्कीले अल जजीरालाई कभर गर्ने प्रतिबद्धताबाट नरोक्ने बताएको छ।
अल जजिराको अरबी भाषाको च्यानल मध्यपूर्वको सबैभन्दा लोकप्रिय समाचार माध्यम हो। इजरायलले भने यसलाई आतंककारीको मुखपत्र भन्ने आरोप लगाउँदै आएको छ।
कतारमा आधारित अल जजिराले आफूलाई आंशिक रूपमा सरकारी लगानी भएको स्वतन्त्र संस्था भन्ने गरेको छ। तर इजरायल, साउदी अरबिया, संयुक्त अरब इमिरेट्स लगायत देशले तानाशाही शासन भएको कतारले सरकारी प्रभाव फैलाउन खोलिएको संचार माध्यम भएको आरोप लगाउँछन्।
अक्टोबर ७ मा हमासको नेतृत्वमा इजरायलमा भएको आक्रमण पछि इजरायली आक्रमणमा परेर केही अल जजिराका पत्रकार मारिएका छन्। इजरायलले भने उनीहरू हमासका आतंककारी भएकाले मारिएको भन्दै आएको छ।