माल्दिभ्समा भारत विरोधी र चीन निकट मानिने राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टीले बहुमत प्राप्त गरेको छ।
आइतबार माल्दिभ्समा भएको मतदानबाट मुइज्जुको पार्टी पिपुल्स नेसनल कंग्रेसले ९३ मध्ये ६० भन्दा बढी सिट जितेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ।
त्यहाँ १३० स्वतन्त्र सहित ३६८ जना उम्मेदवार रहेकोमा पूर्वराष्ट्रपति मोहम्मद सोलिहको मालदिभियन डेमोक्र्याटिक पार्टीले १५ सिट जित्ने अनुमान गरिएको छ।
यसअघि मोहम्मद सोलिहलाई पराजित गर्दै गत सेप्टेम्बरमा मुइज्जु माल्दिभ्सको राष्ट्रपति बनेका थिए।
उनी राष्ट्रपति निर्वाचित भएपनि संसदमा भने मालदिभियन डेमोक्र्याटिक पार्टीकै बहुमत थियो।
निर्वाचन परिणामले अब संसदमा पनि राष्ट्रपति मुइज्जुको पार्टी बहुमतमा हुनेछ।
मुइज्जु चीन निकट मानिन्छन्।
राष्ट्रपति बन्नासाथ उनले आफ्नो औपचारिक भ्रमणसमेत चीनबाट सुरू गरेका थिए। यसबाट भारत रूष्ट बनेको थियो।
मुइज्जुले माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्नसमेत आग्रह गरेका थिए।
माल्दिभ्सबाट भारतीय सेना फिर्ता हुनुपर्ने विषय जोडतोडले उठेको थियो। त्यही पक्षको नेतृत्व गरेर मुइज्जु नयाँ राष्ट्रपति बनेका थिए।
राष्ट्रपति बनेपछि भारतलाई ६ महिनाभित्र आफ्नो सेना फिर्ता गर्न मुइज्जुले आग्रह गरेका थिए।
त्यतिबेला भारतमा ‘बोयकट माल्दिभ्स’ अभियान नै चलेको थियो।