अमेरिकाको कडा चेतावनीका बाबजुद इरानले इसराइलमा आक्रमण गरेको छ।
शनिबार राति इरानले इसराइलमा २०० भन्दा बढी घातक ड्रोन र मिसाइल आक्रमण गरेको इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले जनाएको छ।
एक महिनाअघि सिरियास्थित इरानी दूतावासमा आक्रमण हुँदा त्यहाँ इरानी कुड्स फोर्सका वरिष्ठ कमाण्डर र सैन्य अधिकारीसहित १३ जना मारिएका थिए।
उक्त आक्रमणको जिम्मा इसराइलले नलिएको भएपनि त्यसका पछाडि उसकै हात रहेको दाबी गर्दै इरानले त्यसको कडा जवाफ दिने भनेको थियो।
इरानले इसराइलमा आक्रमण गर्ने भनेपछि संयुक्त राज्य अमेरिकाले इसराइललाई आफ्नो पूर्ण समर्थन हुने र उसलाई जोगाउन आफू ढाल भएर उभिने प्रतिबद्धता व्यक्त गर्दै इरानलाई चेतावनी दिएको थियो।
त्यसका बाबजुद पनि इरानले शनिबार राति इसराइलमा आक्रमण गरेको हो।
आक्रमणबाट सैनिक आधारशिविरमा सामान्य क्षति भएको आइडिएफले जनाएको छ। त्यस्तै ७ वर्षीया बालिका गम्भीर घाइते भएकी छन्। टाउको चोट लागेपछि उनलाई अस्पताल लगिएको छ।
अन्य ३१ जना मानिसहरू पनि सामान्य घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आक्रमणपछि सम्पूर्ण इसराइलमा तनावको स्थिति बनेको छ। जेरूसलेममा लगातार साइरन बजिरहेको र मिसाइलहरू इसराइली आाकाशमा देखिएको बिबिसीले उल्लेख गरेको छ।
केही ड्रोन तथा मिसाइललाई अमेरिकाले निस्तेज पारेको छ।
इसराइलमाथि इरानले पहिलो पटक प्रत्यक्ष हमला गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
इसराइलमाथि आक्रमण भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इसराइली प्रधानमन्त्री बेन्यामिन नेतेन्याहुसँग टेलिफोन वार्ता गरेका छन्।
बेलायतले पनि आक्रमणको निन्दा गरेको छ। बेलायतका रक्षामन्त्री ग्रान्ट शाप्सले मध्यपूर्वमा रहेको आफ्नो सम्पत्तिको रक्षा गर्न आवश्यक कदम चालिने बताएका छन्।
‘इरानले इसराइलमा गरेको हवाई आक्रमणको कडा शब्दमा निन्दा गर्छु। यसले क्षेत्रीय सुरक्षा कमजोर बनाउनुसिवाय अरू कुनै फाइदा हुँदैन,’उनले भनेका छन्।
क्यानडाले पनि इसराइलमाथि इरानले गरेको आक्रमणको निन्दा गरेको छ। साउदी अरबले भने दुवै देशलाई संयम रहन भनेको छ।
इसराइलले अहिलेसम्म कुनैपनि जवाफ दिएको छैन।
इरानले दुई देशबीचको लडाईंमा अमेरिकाले हस्तक्षेप गरे अमेरिकालाई पनि जवाफ दिने चेतावनी दिएको छ।
एफबिआईले अहिलेसम्म अमेरिकामाथि आक्रमणको खतरा नरहेको जनाएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि आक्रमणको निन्दा गर्दै दुवै पक्षलाई संयम रहन आग्रह गरेका छन्।