इसराइलमा प्रधानमन्त्री बेन्यामिन नेतेन्याहूको राजीनामा माग गर्दै प्रदर्शन भएको छ।
गजामा हमासले बन्दी बनाएको नागरिकहरूलाई फिर्ता ल्याउन पहल नगरेको भन्दै इसराइलको राजधानी जेरूसलेममा आइतबारदेखि दसौं हजारको संख्यामा नागरिकरू सडकमा निस्किएका हुन्।
उनीहरूले प्रधानमन्त्री नेतेन्याहूले तत्काल राजीनामा दिनुपर्ने र नयाँ चुनाव गर्नुपर्ने माग गरेका छन्।
प्रदर्शनकारीहरूले त्यहाँको सबैभन्दा ठूलो र व्यस्त हुने राजमार्ग अवरूद्ध गरेका छन्। हजारौं संख्यामा आन्दोलनकारीहरू सहभागी भएको प्रदर्शनलाई मत्थर पार्न त्यहाँ सुरक्षाकर्मीहरूले पानीको फोहोरा हानेका थिए।
त्यसका बाबजुद प्रदर्शनकारीहरूले प्रदर्शन नरोकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। त्यहाँ सोमबार पनि प्रदर्शन जारी छ।
अक्टोबर ७ मा हमासले आक्रमण गरी त्यहाँबाट २४९ जनालाई बन्दी बनाएर गजा लगेको थियो। त्यतिबेला १ हजार २ सय मानिसहरू इसराइलमा मारिएका थिए।
इसराइलले त्यसयता लगातार गजामा हमासलक्षित आक्रमण गर्दै आइरहेको छ। मंसिरमा एक साता भन्दा बढी युद्धविराम भएको थियो। त्यतिबेला विभिन्न देशका १०९ बन्दीलाई हमासले छोडेको थियो।
तर नेपालका विपिन जोशीसहित १३० जना बन्दीहरू अझै हमासको बन्धकमै छन्।
आइतबारदेखि प्रदर्शनमा उत्रिएकाहरूले बाँकी बन्धकहरूलाई मुक्त गर्न पहल नगरी गजामा लगातार आक्रमण मात्रै गर्दा बाँकी रहेका बन्दीहरू पनि मारिन सक्ने खतरा रहेको बताएका छन्।
त्यसकारण उनीहरूलाई बन्धकमुक्त गरी इसराइल फिर्ता ल्याउन कुनै पहल नगरेकाले प्रधानन्त्री नेतेन्याहुको राजीनामा माग्दै दसौं हजार मानिसहरू सडकमा उत्रिएका हुन्।