रूसको राजधानी मस्को नजिकैको क्रोकस सिटी हलमा गत साता भएको आतङ्ककारी हमलाको जिम्मेवारी इस्लामिक स्टेट खोरासानले लिएको छ। अमेरिकाले पनि आफूसँग त्यो हमला इस्लामिक स्टेट खोरासानले नै गरेको हो भन्ने खुफिया प्रमाण छ भनेको छ।
उक्त आक्रमणमा परी १३७ जनाको मृत्यु भएको छ।
इस्लामिक स्टेट खोरासान के हो त?
इस्लामिक स्टेट खोरासान सन् २०१४ मा इराकको केही भाग र सिरियाको झण्डै आधा भूभाग कब्जा गरेर इस्लामी ‘क्यालिफेट’ बनाएको इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया (आइसिस)को मध्य एसियाली शाखा हो।
२०१८ सम्ममा इस्लामिक स्टेटले कब्जा गरेको लगभग सबै भूमि गुमाए पनि यसका अफ्रिका र अरू विभिन्न ठाउँमा शाखाहरू छन्। त्यसमध्ये इस्लामिक स्टेट खोरासान मध्य एसियाली शाखा हो।
समाचार संस्था रोएटर्सका अनुसार इरान, अफगानिस्तान र तुर्कमेनिस्तान लगायत मध्य एसियाको भूभागलाई जनाउने पुरानो इस्लामी नाम खोरासान हो।
द इकोनोमिस्टका अनुसार इस्लामिक स्टेट खोरासान मुख्यतया अहिले उत्तरी र पूर्वी अफगानिस्तानमा आधारित छ। यो समूह अमेरिकी सेना बाहिरिएपछि अफगानिस्तानमा शासन गरिरहेको तालिबानको कट्टर शत्रु हो। तालिबान अमेरिकासँग सम्झौता गरेर बिकेको यो समूहको आरोप छ।
आइसिसको यो शाखा २०१४ तिरै बनेको मानिन्छ। आइसिस सुन्नी इस्लामको सबभन्दा कट्टरपन्थी समूह हो। यसको शाखा इस्लामिक स्टेट खोरासानले पनि शिया मुसलमान र आफूभन्दा कम कट्टर सुन्नीलाई समेत देखी सहँदैन।
यो समूहले २०१९ देखि २०२१ को बीचमा अफगानिस्तानमा मस्जिद र विद्यालयहरूमा गरिएका धेरै आक्रमणहरूको जिम्मेवारी लिएको छ। अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने क्रममा काबुल एयरपोर्टमा यो समूहले आत्मघाती बम विष्फोट गराएको थियो। सो घटनामा १३ अमेरिकी सैनिकसहित १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।
जनवरी २०२४ मा अमेरिकाद्वारा मारिएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा आतंककारी हमला गरेर १०० जनाभन्दा बढीलाई यो समूहले मारेको थियो।
मध्य एसियाबाट आइसिसका लागि सिरियामा लड्न गएर पछि घर फर्केका लडाकुलाई पनि यो समूहले भर्ना गरिरहेको भन्ने छ।
इस्लामिक स्टेट खोरासानले रूसमा किन आक्रमण गर्यो त?
आइसिसलाई हराउन सिरियाका राष्ट्रपति बसर अल-असदलाई सहयोग गरेकाले पुटिनसँग यो समूह क्रुद्ध छ। पुटिनले रूसकै चेचेन्यामा मुसलमानको चरम दमन गरेकाले पनि इस्लामी कट्टरपन्थीहरू उनीसँग चिढिएका छन्।
तत्कालीन सोभियत संघले अफगानिस्तानमा सेना पठाएर कब्जा गरेदेखि नै त्यहाँका मुसलमानहरू रूसीहरूसँग रिसाएका छन्।
रूसले आक्रमणकारी भनेर मुद्दा चलाएको ४ जना सबै ताजिकिस्तानी नागरिक हुन्। इस्लामिक स्टेट खोरासानले कट्टरपन्थी मुसलमानहरूलाई नियन्त्रण गर्न खोज्ने ताजिकिस्तानका तानाशाह इमोमाली रहमोनको धेरै आलोचना गर्छ। रहमोन पुटिनका समर्थक समेत हुन्।
कम्तीमा १ सय ३७ व्यक्तिको ज्यान लिएको गत हप्ताको आक्रमणको बारेमा सोमबार बोल्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अतिवादी मुसलमानले’ त्यो हमला गरेको बताए। इस्लामिक स्टेट खोरासानले घटनाको जिम्मेवारी लिए पनि उनले सो संगठनको नाम समेत लिएनन्। बरू युक्रेन त्यसमा सामेल भएको भनेर पुटिनले संकेत गरे।
रूसमा रहेका आफ्ना नागरिकलाई मार्च ७ मा अमेरिकाले धेरै भीड हुने ठाउँमा यस्तो आतंककारी हमला हुन सक्ने भन्दै सचेत गराएको थियो।
आक्रमण हुन सक्ने खुफिया सूचना पाएको भन्दै अमेरिकाले रूसलाई समेत सचेत गराएको थियो भनेर पश्चिमा मिडियाले लेखेका छन्। तर आक्रमण भएको तीन दिनअघि भएको खुफिया संस्थाहरूको बैठकमा पश्चिमाले ध्यान भड्काउन अफवाह फैलाएको भन्दै युक्रेन विरूद्धको युद्धमा ध्यान केन्द्रित गर्न पुटिनले निर्देशन दिएका थिए। उनले सो चेतावनी ठाडो ‘ब्ल्याकमेल’ जस्तो भएको र त्यसको उद्देश्य रूसी समाजलाई भयभीत र अस्थिर पार्ने भएको भने भनेर उनीहरूले लेखेका छन्।
पुटिनले हिजोको कार्यक्रममा अमेरिकी चेतावनीबारे केही पनि बोलेनन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)