रूसको मस्कोस्थित सिटीहलको कन्सर्टमा अन्धाधुन्ध गोली चलाउने ४ जना पक्राउ परेका छन्।
गोलिकाण्डमा संलग्न रहेको आरोपमा त्यहाँको प्रहरीले ११ जनालाई पक्राउ गरेको थियो। तीमध्ये चार जना गोली चलाउने व्यक्तिहरू रहेको क्रेमलिनलाई उद्धृत गर्दै रूसी सञ्चारमाध्यमहरूले लेखेका छन्।
गोली चलाउने व्यक्तिहरूबारे राष्ट्रपति पुटिनलाई सुरक्षा प्रमुखहरूले जानकारी दिइसकेको मस्कोटाइम्सले उल्लेख गरेको छ।
आक्रमणबारे राष्ट्रपति पुटिनले अहिलेसम्म कुनैपनि टिप्पणी गरेका छैनन्।
आक्रमणमा मृत्यु हुनेको संख्या अपराह्नसम्म ११५ पुगिसकेको छ।
गोली चलेपछि भागदौड हुँदा हलभित्र छिरेकाहरू आगलागीपश्चात त्यहीँ फसेका थिए। सुरक्षानिकायले ६ घन्टा लगाएर त्यहाँको आगो निभएको थियो।
त्यसपछि त्यहाँ फसेकाहरूको उद्धार सुरू गरेको थियो।
रूसी मिडियाहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।
आक्रमणमा परी घाइते भएका १४५ जना भन्दा बढीलाई शुक्रबार नै उद्धार गरी अस्पताल पठाइएको थियो।
आक्रमणपछि युक्रेनले त्यसमा आफ्नो संलग्नता अस्वीकार गरिसकेको छ।
इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको भनेपनि हालसम्म पुष्टि नभएको बिबिसीले उल्लेख गरेको छ।