रूसको मस्कोस्थित एक कन्सर्ट हलमा आक्रमण हुँदा ६० जनाको मृत्यु भएको छ।
मस्कोको उत्तरपश्चिम सहर क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा गएराति नकाब लगाएका बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाको मृत्यु भएको हो।
बिबिसीका अनुसार उक्त कन्सर्टमा ६ हजारभन्दा बढी मानसिहरू उपस्थित थिए। त्यसक्रममा चार जना बन्दुकधारीहरू प्रवेश गरी गोली चलाएका थिए।
गोली चलेपछि त्यहाँ भागदौड मच्चिएको थियो। मानिसहरू हलभित्र समेत प्रवेश गरेका थिए। शनिबार बिहानसम्म हलबाट १०० जना भन्दा बढीलाई उद्दार गरी अस्पताल पठाइएको बताइएको छ।
गोलीबारीपछि उक्त भवनमा आगलागी समेत भएको थियो। आगलागी ६ घन्टापछि नियन्त्रणमा लिइएको बिबिसीले उल्लेख गरेको छ।
घटनापछि ७० वटाभन्दा बढी एम्बुलेन्सबाट घाइतेहरूलाई अस्पताल पुर्याइएको थियो। घाइते १४५ जनामध्ये ६० जनाको अवस्था गम्भीर रहेको रूसी सञ्चारमाध्यमहरूले जनाएका छन्।
रूसले यसलाई आतंकवादी हमला भनेको छ। रूसमा थप ६ वर्षका लागि भ्लादिमिर पुटिन राष्ट्रपति निर्वाचित भएको केही दिनमै ठूलो संख्यामा नागरिकहरूको ज्यान जानेगरी आक्रमण भएको हो।
घटनामा आफूहरूको संलग्नता नभएको युक्रेनले बताइसकेको छ।
समाचार संस्था रोयटर्सका अनुसार आइएसआइएसले आक्रमणको जिम्मा लिएपनि पुष्टि भइसकेको छैन।
आक्रमणपछि रुसको दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्गमा हुने अन्य सार्वजनिक कार्यक्रम पनि रद्द गरिएको छ ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले यसलाई ‘भयानक अपराध’ भन्दै आक्रमणको कडा निन्दा गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेकी छन् ।