स्पेनको मड्रिडमा डिजिटाइजेसनमा महिलाको भूमिका विषयमा छलफल भएको छ।
अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा स्पेनका लागि नेपालका राजदूत शर्मिला पराजुली ढकालले नेपालले लैंगिक समानता र महिला सशक्तीकरणमा गरेको प्रगतिको बारेमा जानकारी गराएकी थिइन्।
पराजुलीले डिजिटल नेपालका लागि राष्ट्रिय रणनीति, टेक्नोलोजीमा बालिका कार्यक्रम र महिलाहरूमा डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न क्षमता अभिवृद्धि प्रयासहरूबारे अनभुव प्रस्तुत गरेकी थिइन्।
उनले साइबर हमला र अनलाइन दुर्व्यवहारबाट उत्पन्न चुनौतीहरू, विशेषगरी महिला र बालिकाहरूलाई प्रभावित पार्ने चुनौतीहरूबारे प्रकाश पार्दै सचेतना कार्यक्रमहरूलाई तीव्रता दिन र डिजिटल स्पेसहरू सुरक्षित गर्न कानुनी उपाय लागू गर्न नेपाल सरकारले चालेका सक्रिय कदममा जोड दिएको स्पेनस्थित नेपाली राजदूतावासले जनाएको छ।
राजदूत पराजुलीले स्पेन र नेपालबीच थप सहकार्य, महिला सशक्तीकरण र दुवै देशमा डिजिटल समावेशीकरणमा थप सहकार्य गर्न आफूहरू तयार रहेको बताइन्।
कार्यक्रम परराष्ट्र मन्त्रालय, युरोपेली संघ र स्पेनको सहयोगद्वारा सहआयोजना गरिएको थियो।
यसैबीच स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले चेम्बर अफ कमर्स अफ सेभिल्ला, एन्डालुसियाका अध्यक्ष फ्रान्सिस्को हेरेरो लियोनलाई लगानी शिखर सम्मेलनमा सहभागी हुन निम्तो दिएकी छन्।
लगानी प्रवर्द्धन, सूचना प्रविधि, हरित नवीकरणीय ऊर्जा र पर्यटन अभ्यास लगायतका क्षेत्रमा सम्भावित एमओयू हस्ताक्षर र सहकार्य फ्रान्सिस्को हेरेरो लियोन सहमत भएको दूतावासले जनाएको छ।